हस्तलिखित भिसाको अन्त्य गर्दै अध्यागमन विभागले शुरुवात गर्यो क्यूआर कोड सहितको भिसा



काठमाडौं । अध्यागमन विभागले हस्तलिखित भिसाको अन्त्य गर्दै क्यूआर कोड भएको आधुनिक भिसाको शुरुवात गरेको छ । विभागले पहिलो पटक सोमबार उक्त भिसा जारी गरेको हो ।

विभागका अनुसार तेञ्जिङ नोर्बु लामालाई पहिलो सेवाग्राहीका रुपमा क्यूआर कोडसहित छपाई भएको भिसा प्रदान गरिएको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले क्यूआर कोड प्रिन्ट भएको अत्याधुनिक भिसा भएको बताए ।

‘अन्तर्राष्ट्रिय स्तरमा यो नयाँ होइन, नेपालमा पनि यसप्रकारको भिसा जारी गर्ने यसअघि कै निर्णय कार्यान्वयन गर्दै भिसा जारी गर्न शुरु गरिएको हो,’ उनले भने ।

उनका अनुसार विभागको नेपाली पोर्ट सफ्टवेयरमा भएका यात्रुहरुको विवरण अब क्यूआर कोडमार्फत् स्क्यान गरेर पनि हेर्न सकिने छ । केही विवरणहरु आँखाले देखिन्छन् भने केही विवरण हेर्नका लागि क्यूआर कोडको सहयोग लिनुपर्ने हुन्छ ।

उनका अनुसार तत्कालका लागि विभागको कार्यालय कालिकास्थानबाट शुरु गरिएको छ भने यो सेवा आगामी आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा विभागका सबै कार्यालयबाट शुरु हुनेछ ।

उनका अनुसार पहिलो दिन साँझ ५ बजेसम्म १२५ जनालाई क्यूआर कोड भएको भिसा प्रदान गरिएको छ । यसप्रकारको भिसा जारी भइसकेपछि केरमेट हुने वा ओभर राइट हुने सम्भावना हटेको छ ।

विभागका अनुसार सुरक्षण विशेषताका रुपमा होलोग्राम र वारटमार्क रहने, भिसा स्टिकरमा क्यूआर कोड हुने जसमा भिसाको विवरण समावेश गरिएको हुनेछ । क्यूआर कोड रिडरको प्रयोग गरी सजिलै भिसाको आधिकारिकता र अन्य विवरण हेर्न सकिनेछ । भिसाको विवरणहरु प्रणालीबाट प्रिन्ट हुने हुँदा हातले केरमेट गर्न नमिल्ने हुन्छ भने क्यूआर कोडमा समावेश गरिएका विवरणहरु परिवर्तन गर्न नमिल्ने हुन्छन् ।

त्यसका साथै भिसा नम्बर समेत प्रणालीबाट सिर्जित गरिने हुँदा शुद्धता हुने र राजदानीको एउटा पेजमा तीनवटासम्म भिसा अटाउन सकिने भएको छ ।


क्लिकमान्डु