नेपाल बैंक र नेपाल इन्भेष्टमेन्टको कल डिपोजिटको सीमा तोकिएभन्दा बढी 



काठमाडौं । नेपाल बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले राष्ट्र बैंकको नीति विपरित कारोबार गरेका छन् । यी बैंकहरूले केन्द्रिय बैंकले तोकेको सीमाभन्दा बढी कल निक्षेप संकलन गरी कारोबार गरेका हुन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले स्वीकार गर्ने कुल निक्षेपको मा १० प्रतिशतभन्दा बढी कल निक्षेपको हिस्सा कायम गर्न नपाउने व्यवस्था गरेको छ । तर नेपाल बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतभन्दा बढी छ ।

बैशाख मसान्तसम्म नेपाल इन्भेष्टमेण्ट बैंकले कुल १ खर्ब ७० अर्ब ३२ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसको १२.७९ प्रतिशत अर्थात २१ अर्ब ७८ करोड ९० लाख रुपैयाँ कल निक्षेपको हिस्सा रहेको थियो ।

यसैगरी, नेपाल बैंकले गत बैशाख मसान्तसम्म कुन १ खर्ब ५९ अर्ब ३२ करोड ६० लाख रुपैयाँ कुन निक्षेप संकलन गरेको थियो । बैंकले सो अवधिमा कुल निक्षेपको ११.०१ प्रतिशत अर्थात् १७ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ ।

यस बाहेक एभरेष्ट बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डुले समेत कुन निक्षेपमा कल निक्षेपको हिस्सा ९ प्रतिशतको हाराहारीमा राखेर कारोबार गरेका छन् ।

बैशाख मसान्तसम्म एभरेष्ट बैंकले कुल १ खर्ब ५३ अर्ब ८१ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । कुल निक्षेपमा बैंकले ९.५३ प्रतिशत अर्थात् १४ अर्ब ६५ करोड २० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ ।

सिद्धार्थ बैंकले बैशाख मसान्तसम्म कुल १ खर्ब ७१ अर्ब ८३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । सोअवधिमा बैंकले कुल निक्षेपको ९.५२ प्रतिशत अर्थात् १६ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ । साथै, सो अवधिमा बैंक अफ काठमाण्डूले ९७ अर्ब ८२ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेकोमा सोको ९.१६ प्रतिशत अर्थात् ८ अर्ब ९५ करोड ७० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ ।

कल निक्षेपमा के छ राष्ट्र बैंकको प्रावधान

राष्ट्र बैंकले २०७६/७७ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै कल निक्षेपमा बैंकहरुलाई कडाई गरेको हो । जसमा केन्द्रिय बैंकले कुल निक्षेपमा कल निक्षेपको हिस्सा वाणिज्य बैंकहरुले १० प्रतिशत र वित्त कम्पनी, विकास बैंकहरुले १५ प्रतिशत कायम गर्न भनेको थियो ।

तोकिएको सीमा कायम गर्न २०७७ असार मसान्तसम्म समय दिइएको थियो । जसअनुसार वाणिज्य र विकास बैंकहरुले २०७७ असार मसान्तयता राष्ट्र बैंकले ताकेको सीमामै रहेर कल निक्षेप संकलन गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले अहिले कोभिड–१९ संक्रमण जोखिम र निषेधाज्ञाको कारणले फिल्ड सुपरीवेक्षण गर्न सकिरहेको छैन् । यसकारणले गर्दा केही बैंकहरूले राष्ट्र बैंकले दिएको विभिन्न निर्देशन उल्लंघन गर्दै कारोबार गरेको देखिन्छ । राष्ट्र बैंकले तोकेको सीमा भित्र कल निक्षेपको हिस्सा कायम गर्न नसक्ने बैंक तथा वित्त कम्पनीहरू दफा १०० बमोजिमको कारवाहीमा पर्ने राष्ट्र बैंक सुपरीवेक्षण एक अधिकारीले बताए ।

जारी निर्देशन पालना गर्न बैंकहरूलाई समय समयमा अनुस्मरण  गराइरहेको भएपनि हाल कोभिड काल चलिरहेको कारण ताकेता लगाउन भने नसकिएको उनको भनाई छ ।

‘कोभिडको कारण देखाउँदै बैंकहरुले चालु आवको जारी भइ २०७८ असार मसान्तसम्म कार्यन्यवन गर्नु केही निर्देशन पालना गर्न नसकेको कारण देखाइरहेका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘तत्काललाई कल निक्षेप सीमामा कायम नगर्ने बैंकहरुलाई कारवाही नै गर्ने भनेर केही निर्णय भएको छैन, तर राष्ट्र बैंकको नीति निर्देशन उल्लघंन गर्ने बैंक तथा वित्तीय संस्थाहरु दफा १०० बमोजिमको कारवाहीमा पर्छन् ।’

कोभिडका कारण केही बैंकहरु समस्यामा परेको गुनासो आइरहेको हुँदा राष्ट्र बैंकले ती बैंकहरुलाई आवश्यक सहुलियत आगामी मौद्रिक नीतिमार्फत् दिने वा नदिनेबारे अध्ययन तथा छलफल भइरहेको उनले बताए । आगामी मौद्रिक नीतिमा कल निक्षेप कायम नगर्ने बैंकहरुलाई छुट तथा सहुलियत नभएमा ती बैंकहरु कारवाहीमा पर्ने उनको भनाइ छ ।

के हो कल निक्षेप ? यस कारण घटाउन आवश्यक छ

अल्पकालीन समयको लागि जम्मा गरिने निक्षेपलाई कल डिपोजिट भनिन्छ । बैंकहरुमा यस प्रकारका निक्षेप राख्न संस्थागत वा ठुला व्यवसायीक घरानाहरुले कल निक्षेप खाता खोलेका हुन्छन् ।

यस प्रकारका खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने समयको भने टुंगो हुँदैन । कल खातामा जम्मा भएको निक्षेप अल्पकालीन प्रकृतिको हुने हुँदा बैंकहरू यस्तो निक्षेपको ब्याजदर अन्य निक्षेपको भन्दा थोरै निर्धारण गरेका हुन्छन् ।

यद्यपि, हाल बैंकले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाइने व्यवस्था गरेको छ । बैंकहरुले लिने निक्षेपमध्ये सबैभन्दा थोरै ब्याजदर साधारण बचतको र कल निक्षेपको नै हुन्छ ।

प्रायजसोः कल खातामा जम्मा हुने रकम अत्यन्तै अल्पकालीन प्रकृतिको हुन्छ । व्यापार व्यवसाय गर्दा छोटो समयको लागि प्राप्त हुने रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीहरुले प्रायः यो खाता प्रयोग गर्छन् ।

कुल निक्षेपमा ठुलो हिस्सा कल निक्षेप राख्ने बैंकले दिर्घकालीन लगानी गर्न नसक्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘कल निक्षेपबाट प्राप्त रकमलाई बैंकले कर्जा लगानी गर्दा त्यो बैंकको तरलता व्यवस्थापन जोखिममा पर्छ,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘निक्षेपकर्ताले कल निक्षेप जुनसुकै समयमा पनि भिक्न सक्ने निक्षेप भएकोले यस्तो निक्षेप अस्थिर हुन्छन्,’ ‘यस्तो निक्षेप र्फिता हुँदा बैंकको सीसीडी रेसीयोमा चाप पर्छ र बैंकह?लाई स्रोत व्यवस्थापन गर्न कठिन हुन्छ ।’
तरलता व्यवस्थापन गर्ने नसक्ने बैंकहरुको बिस्तारै जोखिम बढी ती बैंक संकटमा पर्न सक्ने भएकाले राष्ट्र बैंकले कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतमात्र कायम गर्ने भनेको उनले बताए ।

कुन बैंकको कति कल निक्षेप ? 
नेपाल बैंक र इन्भेष्मेण्ट बैंक बाहेक सबै वाणिज्य बैंकहरुले बैशाख मसान्तसम्म तोकिएको सीमामै रहेर कल निक्षेप संकलन गरेका छन् । तर एभरेष्ट, सिद्धार्थ र बैंक अफ काठमाण्डूको भने कुल निक्षेपमा कल निक्षेपको हिस्सा ९ प्रतिशतको हाराहारीमा छ ।

यसबाहेक अन्य २२ वटा वाणिज्य बैंकहरुको कल निक्षेप कुल निक्षेपमा ८ प्रतिशतभन्दा थोरै छ ।

जसमा सिटिजन्स बैंकको ८.९० प्रतिशत अर्थात् ११ अर्ब ४१ करोड रुपैयाँ, प्राइम बैंकको ८.५३ प्रतिशत अर्थात् १२ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, मेगा बैंकको ८.५२ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८० लाख रुपैयाँ र नबिल बैंकको ८.५१ प्रतिशत अर्थात् १८ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कल निक्षेप रहेको छ ।

बैशाख मसान्तसम्म संकलित कुल निक्षेपमा कल निक्षेपको हिस्सा कुमारी बैंकको ८.४१ प्रतिशत अर्थात् १२ अर्ब २१ करोड ९० लाख रुपैयाँ, एनएमबि बैंकको ८.३७ प्रतिशत अर्थात् १३ अर्ब ३० करोड ६० लाख रुपैयाँ र सानिमा बैंकको ८.२८ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

साथै, लक्ष्मी बैंकको ७.९७ प्रतिशत अर्थात् ९ अर्ब ८ करोड ७० लाख रुपैयाँ, एनआइसी एशिया बैंक ७.४४ प्रतिशत अर्थात् २२ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंक ७.४३ प्रतिशत अर्थात् १८ अर्ब ९० लाख रुपैयाँ, हिमालयन बैंकको ७.०६ प्रतिशत अर्थात् ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ र सिभिल बैंकको ७ प्रतिशत अर्थात् ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ कल निक्षेप रहेको छ ।

चालु आवको बैशाख मसान्तसम्म संकलन गरेको कुल निक्षेपमा कल निक्षेपको हिस्सा प्रभु बैंकको  ६.१७ प्रतिशत अर्थात् ११ अर्ब २१ करोड ८० लाख रुपैयाँ, सनराइज बैंकको ६.७१ प्रतिशत अर्थात् ७ अर्ब २० लाख रुपैयाँ, स्ट्याण्र्डड चार्टर्ड बैंकको ६.४६ प्रतिशत अर्थात्५ अर्ब ५२ करोड ७० लाख रुपैयाँ र माछापुच्छ«े बैंकको ६.४४ प्रतिशत अर्थात् ८ अर्ब १४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यसैगरी, सो अवधिमा कुल निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकको ५.८९ प्रतिशत अर्थात् १४ अर्ब ५० करोड रुपैयाँ, एनसीसी बैंकको ५.८६ प्रतिशत अर्थात् ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ५.८३ प्रतिशत अर्थात् ४ अर्ब ६३ करोड ७० लाख रुपैयाँ, सेञ्चुरी बैंकको ५.३३ प्रतिशत अर्थात् ४ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कल निक्षेपको हिस्सा रहेको छ ।

बैशाख मसान्तसम्म संकलित कुल निक्षेपमा कृषि विकास बैंकको ४.६८ प्रतिशत अर्थात् ६ अर्ब ७६ करोड रुपैयाँ र नेपाल एसबीआइ बैंकको ४.२० प्रतिशत अर्थात् ४ अर्ब ४५ करोड ३० लाख रुपैयाँ कल निक्षेप रहेको छ ।


क्लिकमान्डु