‘फोन पे’ जस्ता वालेट भारत र चीनमा पनि चलाउनुपर्छः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका वालेट पनि भारत र चीनमा चलाउन मिल्ने बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार क्लिकमाण्डुले आयोजना गरेको आगामी मौद्रिक नीतिको कार्यदिशा विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भारत र चीनमा जाँदा त्यहाँका वालेट प्रयोग गर्नुपर्ने झण्झट हटाउनु पर्ने बताए ।

उनले भारत र चीन जाँदा स्वदेशी वालेटको प्रयोग गरी क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्ने सुविधा प्रयोगमा ल्याउनु पर्ने आवश्यकता रहेको बताए । डिजिटल नेपालको अभियानका लागि फोन पे जस्ता वालेट भारत र चीन पनि प्रयोग गर्न मिल्ने गरी काम गर्नुपर्ने बताए ।

हाल नेपालमा चिनियाँ वालेट विपे र अलिपे प्रयोग हुँदै आएको छ । जसका कारण चिनियाँ पर्यटकहरु नेपाल आउँदा सोही माध्यमबाट पैसा भुक्तानी गर्दै आएका छन् ।

‘चीन र भारतमा जाँदा पैसा बोक्नुपर्ने झन्झट पनि नहुने र भारतीय एप पनि प्रयोग गर्न नपर्ने गरी स्वदेशी वालेटको प्रयोगमा बढावा दिनुपर्छ,’ उनले भने ।

उनका अनुसार पछिल्लो समय राष्ट्र बैंक अग्रसरतामा बैंकहरुले डलर कार्ड जारी गरिरहेको र त्यसले पनि धेरै सहज भएको छ । उनले हालसम्म डलर कार्ड लिनेको संख्या २ हजार २ सयभन्दा बढी रहेको छ । उक्त डलर कार्डबाट एक वर्षमा एक जनाले बढीमा ५ सय डलरसम्म खर्च गर्न सक्ने व्यवस्था छ ।

हामीहरु हामीकहाँ उपलब्ध वालेटहरु भारत तथा चीनमा जाँदा पनि चलोस् भन्ने चाहना राखेका छौं । त्यसैका लागि काम पनि गरिरहेका छौं । अन्तरआबद्धता भइ त्यस्तो प्रकारको सुविधा उपभोग गर्न पाउनु पर्छ भन्ने हाम्रो लक्ष्य छ ।

‘हामी भारत जाँदा पेटीएम छैन भनेर चिन्ता लिनु नपरोस, मैले पनि व्यवसायीहरुलाई भनिरहेको छु,’ उनले भने ।

उनले व्यवसायीहरुलाई आइडिया मात्रै ल्याएर नहुने भन्दै त्यसलाई कार्यान्वयनमा जान पनि अनुरोध गरे । त्यसका लागि आफूले सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।


क्लिकमान्डु