धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८१ करोड रुपैयाँ बराबरको बजेट, के-के छन् योजना ?



काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणसँगै उपचार र खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै धनगढी उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले मंगलबार सातौं नगरसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेकी हुन् ।

उप-महानगरपालिकाले आगामी आर्थिकवर्षका लागि कुल १ अर्ब ८१ करोड २८ लाख २२ हजार १०३ रुपैयाँ बराबरको बजेट ल्याएकोछ । जसमध्ये चालुगततर्फ १ अर्ब २ करोड ८० लाख ७० हजार र पूँजीगततर्फ ७८ करोड ४७ लाख ५१ हजार रुपैयाँ बराबर विनियोजन गरिएको छ ।

उप–महानगरपालिकाले  ‘सुख, शान्ति र सम्वृद्धिको शहर: धनगढी नगर’ भन्ने मुल नाराका साथ कोभिड १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माणतथा दीगो विकास,  सूचना प्रविधि तथासञ्चारमा विकास तथा   उद्यम, स्वरोजगारी र सहकारीताको विकासलाई बजेटको प्राथमिकतामा राखेको जनाएको छ ।

त्यस्तै, कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण र उपचार, प्राकृतिक विपद व्यवस्थापन पूर्वतयारी,  पुर्नस्थापना तथा पुनःनिर्माण, क्वारेन्टाइन व्यवस्थापन, आईसोलेसन केन्द्र स्थापना, राहत तथा उद्दार कार्य, स्वास्थ्य सामग्री र खोपको न्यायोचित वितरणलगायतका कामलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षका लागि बजेट विनियोजनका सिद्धान्त प्राथमिकता रनीति तथा कार्यक्रम तय गर्न संघ सरकारले स्थानीय तहलाई दिएको मार्गदर्शन अनुरुप हुने गरी उपमहानगरले विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी बजेट ल्याएको उपमेयर भट्टले बताइन् ।

‘आर्थिक रुपले अति विपन्न श्रमिक तथामजदुरहरुलाई रोजगारी उपलब्ध गराउन श्रममुलक प्रविधिको प्रयोग गरि कार्यन्वयन गरिने आयोजनाहरु छनौट गर्ने, संक्रमण जोखिम रहदासम्म अशक्त, असहाय एवं आर्थिकरुपले विपन्न गर्भवती महिला, जेष्ठ नागरिक एवंम् अपांगता भएका व्यक्तिहरुलाई राहतका कार्यक्रम संचालन गर्ने गरि बजेट विनियोजनको प्राथमिकता निर्धारण गरिएको छ,’ नगर सभा बैठकमा उनले भनिन् ।

कोभिड-१९ महामारीको व्यवस्थापन, उपचार रनियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा अन्य जोखिममा रहेका प्रशासनिक  जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव नहुने गरी बजेट व्यवस्थापन गर्ने पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

यस्तो छ धनगढी उप-महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटः


क्लिकमान्डु