बिजुली बजार र तीनकुनेमा ‘नेटवर्क आर्क ब्रिज’, तस्बिर हेर्नुहुन्छ ?




काठमाडौं । काठमाडौंको बिजुलीबजार धोबी खोला र तीनकुनेको बाग्मतीमा ‘नेटवर्क आर्क ब्रिज’ बनिरहेको छ ।

कूल ३४ करोड रुपैयाँको लागतमा ४ वटा आकर्षक आधुनिक ‘नेटवर्क आर्क ब्रिज’ निर्माण भईरहेको छ । यसमध्ये तीनकुनेको बागमती पुलको लागत २१ करोड रुपैयाँ र बिजुलीबजारको धोबीखोलाको १३ करोड रुपैयाँ लागत अनुमान छ ।

बिजुली बजार र तीनकुनेमा निर्माण हुने ‘नेटवर्क आर्क ब्रिज’का कारण सहर सुन्दर देखिनुका साथै सवारी आगमनमा सहज हुने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।

‘दुबै ठाउमा नेटवर्क आर्क ब्रिज बनाउने हो, यस्तो डिजाइनको पुल आकर्षक पनि देखिने हुँदा सहरको सुन्दरता बढाउन सहयोग पुग्छ, त्यसैले यही डिजाइनको बनाइएको हो,’ इन्जिनियर श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

बिजुलीबजार र तीनकुने दुबै स्थानमा पुरानो र सानो पुल छ । दुबै ठाउमा ८ लेनको सडक भएपनि पुल भने २ लेनको मात्रै छ । पुल सानो र जिर्ण भएकोले नयाँ बनाउन लागिएको श्रेष्ठले जानकारी दिए ।

‘रोड ८ लेनको छ, पुल २ लेनको छ, त्यसैले तीनकुने र बिजुलीबजारमा २ वटा नयाँ पुल बनाउँदै छौं,’ श्रेष्ठले भने ।

कस्तो हुन्छ पुल ?
बिजुली बजारको पुल ५० मिटर र तीकुनेको ८५ मिटर लामो हुनेछ । दुबै पुलको चौडाइ १४ मिटरको हुन्छ । पुलको आर्क १० मिटर लामो हुनेछ । पुलको दायाँ बायाँ १/१ मिटर फुटपाथ रहनेछ । आर्कमा स्टिलको डण्डी राखिनेछ ।


क्लिकमान्डु