हाइड्रोबाट नाफा कमाएका लगानीकर्ता बैंकमा सिफ्ट, अब बुल हुने पालो बैंकको



काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको एउटा गुनासो हुन्छ । अरुको जस्तो बैंकको सेयर मूल्य बढेन । कुनै बेला राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले सार्वजनिक रुपमा नै बैंकको सेयर मूल्य कम भएको गुनासो गर्ने गरेका थिए ।

सेयर बजारमा समूहगत सूचकको आधारमा फाइनान्स कम्पनीले समेत वाणिज्य बैंकलाई जितेको छ । फाइनान्स कम्पनीको समूहगत सूचक अहिले १९४२.५१ रहेको छ भने वाणिज्य बैंकको सूचक १९०७ रहेको छ ।

२८५६ बिन्दुमा नेप्से परिसूचक आएपनि केही वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा छन् । अघिल्लो पटकको नेप्से बुल हुँदा १८ सय बिन्दुमा त्यो बेला वाणिज्य बैंकको सेयर किन्ने लगानीकर्ता अझै घाटामा रहेको छन् ।

यो पटक सेयर बजार बुलिस ट्रेण्डमा भएपनि वाणिज्य बैंकमा भने त्यस्तो अहिलेसम्म देखिएको छैन । यद्यपी एकवर्षको तुलनामा वाणिज्य बैंकको सेयर मूल्य कम्तीमा पनि १०० रुपैयाँ भने बढेको छ । तर,एकवर्ष अगाडि ५० रुपैयाँमा पनि नपरेका हाइड्रोपावरको कम्पनीको जस्तो भने वाणिज्य बैंकको सेयर मूल्य बढेको भने छैन ।

सेयर बजारका ठूला लगानीकर्ताको रुपमा चिनिने अम्बिकाप्रसाद पौडेल वाणिज्य बैंकको सेयर मूल्य नबढ्दासम्म बुलिस ट्रेण्ड नसकिने बताउँछन् ।

‘बुझेका लगानीकर्ताहरु अब हाइड्रोबाट सिफ्ट गर्ने समय हो, गर्ने कि नगर्ने भन्ने विषय लगानीकर्ताको आफ्नो च्वाइस हो,’पौडेलले क्लिकमाण्डूसँग भने ।

बिहीबार मात्रै बैंकिङ समूहको सूचक ५०.२५ अंकले बढेको छ । सेयर आपूर्ति बढी भएको हुँदा बैंकको सेयर मूल्य अन्य समूहको जस्तो एकैदिन ठूलो रकमले बढ्न करिब सम्भव छैन । यद्यपी बिहीबार भने अरुदिनभन्दा बढी अंकले बैंकको सूचक बढेको छ ।

सेयर बजारमा ठूला लगानीकर्ताको रुपमा चिनिने निर्मल प्रधान तुलनात्मक रुपमा बैंकको सेयर बढी सुरक्षित हुने बताउँछन् ।

‘लगानीकर्ताको आफ्नो रोजाइ हो, बैंकको सेयर मूल्य नबढ्दासम्म बजारमा बुलिस ट्रेण्ड आएको भन्न सकिदैन,’प्रधानले भने ।

अहिले २६ वटा वाणिज्य बैंक सेयर बजारमा सूचिकृत छन् । सेयर बजारमा साना आकारको संस्थाजस्तो वाणिज्य बैंकको सेयर मूल्यलाई कर्नरिङ गर्न सकिदैन । वाणिज्य बैंकको चुक्ता पूँजी नै ८ अर्ब छ । जसको कारण सेयर बजारमा समूहको भन्दा वाणिज्य बैंकको आपूर्ति बढी हुन्छ ।


क्लिकमान्डु