बजेटमा किन ५० प्रतिशत घटाइयो माथिल्लो तामाकोशीको क्षमता ?
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कूल क्षमता हो, ४५६ मेगावाट ।
सो आयोजनाले विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरिरकेको छ । अडिट टनेलमा पानी चुहिने समस्या आएपछि त्यसको मर्मत सम्भारको काम भइरहेको छ ।
विशेष गरी मुख्य सुरुङ जोडिने अडिट सुरुङको ढोकामा पानी चुहिने समस्या देखिएपछि त्यसको मर्मत सम्भारमा आयोजना, आयोजनाका प्राविधिक कर्मचारी तथा अन्य सरोकारवाला निकाय लागेका छन् ।
एकपटक टनेलमा पानी हालेर उपकरणको परीक्षण पनि भइसकेको छ । यो आयोजनाको कुरा भयो ।
तर कामचलाउ सरकारका अर्थमनत्री विष्णु पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट मात्र २२८ मेगावाट बिजुली उत्पादन हुने लेखिएको छ । हेर्नोस् बजेट ।
आयोजनाको कूल क्षमता अनुसारकै बिजुली उत्पादन गर्ने तयारी गरिरहेको बेला सरकारको बजेटमा उल्लेख गरिएको २२८ मेगावाट क्षमताको विषयले आयोजनाका अधिकारी पनि तीनछक परेका छन् । सरकारले मात्रै कूल क्षमताको ५० प्रतिशत मात्रै क्षमता बुराबरको बिजुली उत्पादन हुुने उल्लेख गरेको छ ।
‘हामी पूर्णक्षमतामा बिजुली उत्पादनको तयारी गरिरहेका छौ । बजेटमा भने झण्डै ५० प्रतिशत क्षमताको बारेमा मात्रै उल्लेख गरेर अन्यौल बढाउने काम गरियो ’ आयोजनाका एक अधिकारीले भने ।
यस बारेमा सरकारी अधिकारीका तर्फबाट कुनै पनि विवरण सार्वजनिक भएको छैन ।
क्षमता नै घटाएर किन राखियो भन्ने बारेमा सबैतिर हल्लीखल्ली भएको छ । आयोजनाले अबको १५ दिनभित्र पहिलो यूनिटबाट झण्डै ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरेको छ । सरकारले तयारी गरेको आधारमा हेर्ने हो भने कूल ३ यूूनिटबाट मात्रै बिजुली उत्पादन हुन्छ भन्ने देखिन्छ ।
आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा यूनिट रहेका छन् । ५० प्रतिशत क्षमतामा बिजुली उत्पादन गरेर बाँकी रहेका यूनिटबाट बिजु्ली उत्पादन नहुने भन्ने हुँदैन होला त ? ऊर्जा क्षेत्रका एक जानकारको प्रश्न छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गलत विवरण पठाएका कारण माथिल्लो तामाकोशीको क्षमता कम देखाइएको हुन सक्ने अर्थमन्त्रालमा बजेट निर्माणमा संलग्न एक कर्मचारीको भनाइ छ ।
‘हामीले मन्त्रालबाट जे विवरण आउँछ, सोही राख्ने हो, क्षमताका बारेमा हामीलाई केही जानकारी छैन’ उनले भने ‘मैले पनि माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट नै हो भन्ने थाहा पाएका थिए ।’