देशभरका ६० अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु जडान गर्न ५ अर्ब ५२ करोड निकासा



काठमाडौं । देशभरका विभिन्न ६० वटा अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र हाइ डिपेन्डेन्सी युनिट (एचडियु) लगायतका स्वास्थ्य उपकरण जडानका लागि जेठ महिनामा मात्र सरकारले ५ अर्ब ५२ करोड ४५ लाख रूपैयाँ बराबर थप बजेट निकासा गरेको छ ।

अर्थ मन्त्रालयले हालसम्म २६ वटा केन्द्रीय अस्पताल, ९ वटा प्रादेशिक अस्पताल र २५ वटा जिल्ला अस्पतालहरूमा यस्ता सामग्री जडानका लागि यो रकम निकासा गरेको हो ।

मन्त्रालयले जेठ २ गते मात्र ४ अर्ब ३१ करोड ६५ लाख रूपैयाँ निकासा गरेको थियो । उक्त रकममध्ये २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।

त्यस्तै, २५ वटा केन्द्रीय र प्रादेशिक अस्पताललाई एचडियु स्थापनाका लागि थप १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ निकासा गर्ने सैद्धान्तिक सहमति मन्त्रालयले दिएको थियो ।

जेठ ४ गते मन्त्रालयले विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइपलाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो । त्यसअघि विभिन्न अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु थप गर्न सरकारले ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति दिएको थियो ।

मन्त्रालयले जेठ ७ गते देशका विभिन्न स्थानमा १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासाका लागि सहमति दिएको छ ।

कोभिड-१९ महामारीको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुसार अर्थ मन्त्रालयले यो रकमको स्रोत सुनिश्चित गर्दै निकासाका लागि सहमति दिएको हो ।


पुष्प दुलाल