आयात गरिएको भटमासको तेल खपतभन्दा निर्यात बढी !



काठमाडौं । नेपालमा सबैभन्दा बढी आयात हुने भटमासको तेलको निर्यात पनि उच्च रहेको छ । विगतका दिनमा पाम आयल उल्लेख्य रुपमा निर्यात हुँदै आएकोमा भारत सरकारले प्रतिबन्ध लगाएसँगै त्यसको स्थानमा अहिले भटमास तेलले लिएको छ ।

नेपालमा स्थानीय बजारमा भटमास उत्पादन गरेर तेल प्रशोधन गर्न सक्ने अवस्था छैन । नेपालले मासिकरुपमा अर्बौ रुपैयाँ खर्चेर आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को १० महिनाकोे अवधिमा सबैभन्दा बढी आयात भएको वस्तुको तेस्रो नम्बरमा भटमासको तेल रहेको छ ।

१० महिनाको अवधिमा नेपालले ३८ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ बराबरको ३४ करोड ४६ लाख ८९ हजार लिटर भटमासको तेल आयात भएको छ । उक्त आयातित भटमासको तेलबाट राज्यले ३ अर्ब ६५ करोड ८१ लख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

नेपालमा भटमास उत्पादन गरी अन्य मुलुकमा पठाउन नसक्ने अवस्था रहेपनि नेपालले उल्लेख्य रुपमा आयातित तेल प्रशोधन गरेर निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको वैशाख मसान्तसम्ममा ३५ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ मूल्य बराबरको २१ करोड ५१ लाख ४२ हजार लिटर तेल निर्यात गरेको छ । उक्त तथ्याङ्क अनुसार नेपालले धेरैभन्दा धेरै तेल आयात गरेर भारततर्फ निर्यात गरेको उल्लेख गर्दछ ।

भन्सार विभागको तथ्याङ्कमा आयातित तेलको परिमाण र निर्यातको परिमाण तुलना गर्दा अयातितमध्ये करिब ६३ प्रतिशत नेपालबाट निर्यात हुन्छ भने ३७.५८ प्रशिशत मात्रै देशभित्र खपत भएको देखिन्छ ।

तर, मूल्यको तुलला गर्दा बाहिरी देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दा महंगो पर्न गई आयात र निर्यात मूल्यमा खासै फरक नरहेको व्यवसायीहरू बताउँछन् ।

भटमास तेलको आयात निर्यातको मूल्यलाई तुलना गर्दा करिब ७.१० प्रतिशतले मात्रै आयातित तेलको मूल्यमा फरक रहेको छ । जसमा करिब १० महिनाको अवधिमा १२ करोड ९५ लाख ६६ हजार लिटर मात्रै नेपालमा खपत भएको पाइन्छ ।

नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीका अनुसार नेपालले इन्डोनेसिया, पुरुग्गे, अर्जेन्टिनालगायत अन्य देशबाट आयात गरी नेपालमा प्रशोधन गर्ने गरेको बताए ।

जसमा उक्त देशबाट आयात गरेर भट्मासको तेल नेपाली बजारमा पर्याप्त मात्रामा राखेर भारततर्फ निकासी गर्ने गरेको उनले जानकारी दिए ।

उनका अनुसार भारतमा अहिले भटमास तेलको माग धेरै रहेकाले नेपालबाट अत्यधिक निर्यात भएको उनको बुझाइ छ ।

‘नेपालमा भटमास तेलको लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात हुने गर्दछ । सोही आयात भएको भट्मासको तेल प्रशोधन भई भारतमा निर्यात गर्दै आएको छ,’ उनले भने ।

त्यस्तै, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईका अनुसार पनि नेपालले आयात गरी प्रशोधन गरेर भारततर्फ निकासी गर्ने बताए । तर, खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रा कुमार श्रेष्ठले भने उक्त परिमाणमा भटमासको तेल निर्यात नहुने बताउँछन् ।

उनका अनुसार नेपाली बजारमा आपूर्तिको लागि नै नेपालले विदेशबाट आयात गरेर आपूर्ति गर्नु परेको अवस्थामा सो परिमाणमा तेल निकासी नहुने उनको दावी छ । तर, पछिल्लो समयमा भारतमा भट्मास तेलको उच्च माग रहेकाले केही परिमाणमा मात्रै निर्यात हुने उनले जिकिर गरे ।


क्लिकमान्डु