निषेधाज्ञाले १० हजार बढी आयोजना प्रभावित, १० लाख बेरोजगार



काठमाडौं । दोस्रो लहरको कोरोना भाइरसले संक्रमण बढेसँगै सरकारले लागू गरेको निषेधाज्ञाले निर्माण क्षेत्रमा धेरै असर परेको छ ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत १६ गते लागू गरिएको निषेधाज्ञाले देशभरको विकास निर्माण कार्यमा असर परेको हो ।

गत वर्ष पनि कोरोना भाइरस महामारीका कारण अधिकांश आयोजना प्रभावित भएको थियो । उक्त समयमा समयमै सम्पन्न गर्नुपर्ने आयोजना सम्पन्न गर्न सकेको थिएन ।

व्यवसायीहरूले कोरोना भाइरस महामारीका कारण समयमै सम्पन्न गर्न नसकेको सम्पूर्ण आयोजनाको म्याद थप हुनुपर्ने लगायत अन्य धेरै माग गर्दै आएका थिए ।

तर, सरकारले निर्माण व्यवसायीले माग हालसम्म सम्बोधन नगरेको व्यवसायीहरूको गुनासो छ । साथै, निर्माण व्यवसायीहरूले गत वर्षदेखि हालसम्म पनि सोही माग सम्बोधन गर्न ध्यानाकर्षढा गरिरहेका छन् ।

गत वर्ष निर्माण कार्य शुरु हुने समयमै लकडाउन र निषेधाज्ञा लागू भएको थियो । पुनः यो वर्ष पनि सोही अवधिमा निषेधाज्ञा लागू भएकाले देशभरको १० हजार बढी आयोजना प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

यो समय भनेको निर्माण व्यवसायीहरूको भ्याईनभ्याई काम हुने समय हो । साथै चालु आवमा सम्पन्न गर्नुपर्ने आयोजनाको निर्माण कार्य सम्पन्न गरी सरकारलाई हस्तानतरण गर्नेको चटारो हुन्थ्यो । तर, कोरोना भाइरसले यो वर्ष पनि केही गर्न नपाएको व्यवसायीहरूले बताएका छन् ।

‘गत वर्ष करिब ८ हजारभन्दा बढी आयोजना प्रभावित भएको थियो । यो समयमा वर्ष भरी काम लिएर सम्पन्न गर्नुपर्ने समय हो,’ महासंघका महासचिव रोशन दाहालले भने, ‘करिब ३, ४ वर्षदेखि गर्दै आएका आयोजना, दुई वर्ष लागेका ठेक्काहरू र साना खालको ठेक्काहरू सम्पन्न गर्नुपर्ने हो । तर, कोरोनाले सो कार्य सम्पन्न गर्न सकेको छैन । यसले गर्दा देशभरका १० हजारभन्दा बढी आयोजना अलपत्र परेको छ ।’

उनका अनुसार दैनिक रुपमा संक्रमण बढी रहेको अवस्थाले गर्दा आगामी दिनमा पनि निषेधाज्ञा लम्बिँदै जाँदा समस्यामा परेको बताए । हाल देशका ठूला–ठूला राष्ट्रिय परियोजनाबाहेक सम्पूर्ण आयोजनाहरू पूर्ण रुपमा बन्द भएको उनी बताउँछन् ।

साथै, सञ्चालनमा रहेको आयोजनाहरूमा पनि श्रमिकहरू आयोजनामा बस्न नमान्दा समस्या भइरहेको उनले बताए ।

हाल कोरोना संक्रमित दैनिक रुपमा बढ्दै गएपछि आयोजनाको अटिएका श्रमिकलाई महासंघले व्यवस्था गर्न नसक्ने अवस्था हुँदा अधिकांश आयोजान बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।

‘स्थानीय तहका सम्पूर्ण आयोजना सञ्चालन भई सम्पन्न हुनुपर्ने बेलामा संक्रमितको संख्या बढ्न गई काम रोकिएको छ । त्यसैले अधिकांश आयोजना प्रभावित भई काम गर्न नसक्ने स्थिति सिर्जना भएको छ,’ उनले भने ।

व्यवसायीहरूले लामो समयदेखि सञ्चालति आयोजनाहरूको म्याद थप गर्नुपर्ने माग गर्दै आएका छन् जसमा सरकारले केही म्याद गरिए पनि आयोजनाको समयमै भुक्तानी नगर्दा झन प्रभावित भएको उनको भनाइ छ ।

त्यसैगरी, अहिले यो वर्ष सम्पन्न गर्नुपर्ने कामहरूमा पनि सरकारले समयमै भुक्तानी नगर्दा व्यवसायीहरू मारमा परेको उनले गुनासो पोखे ।

‘व्यवसायीहरूले कतिपय कामहरू सम्पन्न गरिसकेको छ भने कतिपय सक्ने क्रममा रहेको छ । तर, सरकारले निर्माण व्यवसायीलाई ७० अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी भएकाले सो आयोजना समयमै सम्पन्न गर्न नसक्नुको अर्को कारण रहेको छ,’ उनले क्लिकमान्डूसँग भने ।

महासंघले भूक्तानी गर्नको लागि सरकारसँग विशेष जोड दिँदै आएका छन् । एकातिर कोरोनाले गर्दा सम्पूर्ण आयोजना बन्द भएको अवस्थामा सरकारले समयमै भुक्तानी नगर्दा अर्को समस्या थप भएको व्यवसायीहरू बताउँछन् ।

कोरोनाले गत वर्ष पनि निकै प्रभावित भएको यो क्षेत्रमा पुनः निषेधाज्ञा लागू भएकाले गत वर्षकोभन्दा पनि बढी असर पर्ने व्यवसायीहरूले अनुमान गरेका छन् । साथै, निषेधाज्ञाले गर्दा ढुवानी, श्रमिक, सामग्रीको मूल्य र सामग्री समय नपाउनेजस्ता निकै समस्या भोग्न बध्य भएको उनले जानकारी दिए ।

१० लाख बेरोजगार
देशभर १५ हजार बढी निर्माण व्यवसायीहरू छन् । उक्त निर्माण व्यवसायीहरूले सञ्चालन गरिरहेका हजारौं आयोजनामा लाखौं श्रमिक आबद्ध छन् । देशभर करिब प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निर्माण क्षेत्रमा वार्षिक १५ लाख रोजगार दिँदै आएको छ । त्यसमध्ये पाँच लाख विदेशी नागरिक छन् भने बाँकी १० लाख नेपाली रहेको महासंघको अनुमान छ ।

अहिले निषेधाज्ञाले गर्दा यस क्षेत्रमा आबद्ध करिब ७५ प्रतिशत अर्थात १० लाख बेरोजगार बनेको उनको भनाइ छ । साथै, सामान्य रुपमा भने ठूलो आयोजनामा आबद्ध करिब ५ लाखले मात्रै रोजगारी पाएको उनले जिकिर गरे ।

‘महासंघमा आबद्ध भएका व्यवसायीहरूबाट करिब २ लाखलाई प्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ । कोरोनाले गर्दा उक्त २ लाख श्रमिकलाई कसरी व्यवस्थापन गर्ने र कसरी मासिक तलब वितरण गर्ने भन्ने निकै चुनौती रहेको छ,’ उनले भने ।

सरकारले निषेधाज्ञा कहिले खुल्ने भन्ने थाहा छैन । त्यसैले अबका दिनका निर्माण व्यवसायीहरू कसरी अगाडि बढ्ने भन्ने छलफल भइरहेको उनले बताए ।


क्लिकमान्डु