अब नेपाल टेलिकमको फोन डायल गर्ने वित्तिकै सम्पर्क हुने, यसरी लिनुस् सेवा



काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भोलेट ( भ्वाइस ओभर लङ टर्म इभ्यालुएशन) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भोलेट सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भोलेट सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444#डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भोलेट एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोलेट कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ । र, लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भोलेटको संकेत देखापर्दछ ।

भोलेटको संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भोलेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।


पुष्प दुलाल