मर्जर तथा एक्विजेशनका लागि ठूला बैंकको आँखा एनबी, एनसीसी, सिभिल र सेन्चुरीमा



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएपछि बैंकहरुमा मर्जरको चासो निकै बढेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको कारण मर्जर तथा एक्विजेशनको छलफल भने अगाडि बढेको छैन । खास गरेर ठूला बैंकहरुले ४ वटा बैंकलाई विशेष रुपमा आखाँ लगाएका छन् । एनबी, एनसीसी तथा सिभिल र सेञ्चुरी बैंक भने उपयुक्त वाणिज्य बैंक खोजेर मर्जर तथा एक्विजेशनको लागि बढी प्रस्ताव गर्ने बैंकमा पर्छन् ।

सिभिल बैंकले यसभन्दा अगाडि हिमालयन बैंकलाई पत्र नै लेखेर आफुहरु एक्विजेशनमा जानको लागि तयार भएको जनाएको थियो । तर, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सिरियस छलफल अगाडि बढेपछि त्यो प्रक्रिया सेलायो । सिभिल बैंक सम्बन्ध स्रोतका अनुसार उपयुक्त मूल्य पाएमा सिभिल बैंक मर्जरमा जाने तयारीमा छ ।

‘पछिल्लो एकवर्षमा हाम्रो व्यवसाय समेत बढेको हुँदा अघिल्लो वर्षजस्तो अवस्था होइन, अब मूल्य राम्रो पाएमा भने मर्जरमा जाने हो,’ सिभिल बैंकका एक संचालकले भने ।

हिमालयन बैंकका केही लगानीकर्ताहरु सिभिललाई एक्विजेशन गर्न सकारात्मक भने छन् । तर, यो प्रक्रिया नेपाल इन्भेष्टमेन्टसँग मर्जर प्रक्रिया नपुग्दै हुने देखिएको छैन ।

विभिन्न चरणमा कुरा भएर प्राइम र सेञ्चुरी बैंकको मर्जर प्रक्रिया अगाडि बढेन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरसँगै सेञ्चुरीले पनि ठूला बैंकसँग मर्जरको लागि तयार रहेको सन्देश दिएको छ । यद्यपी अहिले कोरोना भाइरस फैलिएको कारण तत्काल प्रक्रिया भने अगाडि बढेको छैन । लगानीकर्ताको सम्बन्धको हिसाबले प्राइम र सेञ्चुरीलाई नजिक भने मानिन्छ । सेञ्चुरी पनि राम्रो मूल्यको ताकमा छ ।

पछिल्लो समय व्यवसायको दृष्टिकोणले कम व्यवसाय गरेको एनबी बैंक हो । बजारमा नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने हल्ला छ । विभिन्न चरणमा नबिल बैंक र एनबी बैंकबीच कुरा नभएको भने होइन । खास कुरा नमिलेको स्वाप रेसियोमा हो ।

यस्तै एनसीसी बैंक र नबिल बैंकबीच पनि स्वापमा नै कुरा मिलेको छैन । विभिन्न चरणमा भएको कुराकानीले स्वाप रेसियोमा कुरा मिलेको छैन । एनसीसीले पनि मूल्य राम्रो भएमा मर्जर तथा एक्विजेशनको लागि ठूलो नै वाणिज्य बैंकमा जाने भनेको छ । एनसीसीलाई पनि नबिल बैंकले लिने हल्ला छ । तर,मूल्यमा कुरा भने मिल्न बाँकी छ । दुई वर्ष अगाडि पनि प्रभु बैंकसँग एनसीसीको मूल्यमा नै कुरा मिलेको थिएन ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ को अनुपातले एक्विजेशन गर्ने निर्णय गरेको छ । फाइनान्स कम्पनीलाई ३५ दिएपछि आफुहरुको मूल्य बढी हुनुपर्ने तर्क एनबी र एनसीसीको छ । नबिल बैंकको साधारणसभाले एक्विजेशन गर्ने मात्र अनुमति दिएको छ ।

अहिले रहेका वाणिज्य बैंकमा ३ वटा सरकारी बैंक तथा विदेशी लगानी भएका स्ट्याण्डर्ड चार्टर्ड, एसबीआई बाहेक अरु बैंक कुनै कुनै रुपमा मर्जर तथा एक्विजेशनको तयारीमा छन् ।


क्लिकमान्डु