स्वास्थ्य सामग्री खरिदका लागि ड्राफ्टको सीमा हट्यो, १ लाख डलरसम्मको सामान ल्याउन पाइने



काठमाडौं नेपाल राष्ट्र बैंकले स्वास्थ्य सामाग्री खरिदका लागि ड्राफ्ट/टिटिमार्फत् गरिने आयातको सीमा हटाएको छ ।

राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै प्रतीतपत्र (एलसी) बिना अर्थात ड्राफ्ट/टिटिको माध्यामबाट हुने स्वास्थ्य सामाग्री आयातका लागि सटही सुविधासमेत बढाइएको जनाएको छ ।

अब स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य तथा स्वास्थ्य सामग्रीको आयातको हकमा वाणिज्य बैंकहरुबाट १ लाख अमेरिकी डलर बराबर सम्मको रकम ड्राफ्ट वा टि. टि. को माध्यामबाट भुक्तानी गर्न सकिनेछ ।

अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्टेटर, अक्सिजन ट्यांक, उत्पादन प्लान्ट, भेन्टिलेटरलगायतका सामग्रीको आयात गर्दा ड्राफ्ट र टि.टि सम्बन्धी सीमा, बिसिआई र स्वास्थ्य सेवा सेवाको सिफारिस आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

१ लाख अमेरिकी डलरभन्दा माथिको सटही स्ुविधा लिन भने स्वास्थ्य विभागको अनुमति लिनुपर्नेछ । विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा बिजनेस क्रेडिबिलिटी इन्फरमेसन (बिसिआई) लिनु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ ।

ड्राफ्टमार्फत् आयात गरिएका स्वास्थ्य सामग्रीमा वाणिज्य बैंकहरुले तोकिएको सीमाभित्र सही सटही सुविधा दिनुपर्नेछ । स्वास्थ्य सामग्री खरिदका लागि एक पटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटहीका लागि सुविधा पाइनेछ ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहजीकरण गर्न भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।


क्लिकमान्डु