एनआईसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक



काठमाडौं । एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको हो ।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत् ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

कार्ड प्राप्त गर्नका लागि ग्राहक महानुभावहरूको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहक महानुभावहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहक महानुभावहरूले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सकिनेछ ।


क्लिकमान्डु