रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा, ५० हजार जना बेरोजगार
काठमाडौँ। राज्यले बहुमूल्य रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड रुपैयाँ घाटा हुने गरेको छ ।
नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाली रत्न, पत्थरको व्यवसायी सम्भावना, चुनौती र समाधान’ विषयक अन्तक्रियामा बोल्ने वक्ताहरुले राज्यले तीन वर्षअघिदेखि बहुमूल्य रत्न, पत्थरको निकासी बन्द गर्दा खानी क्षेत्रका ५० हजार मानिस बेरोजगार तथा राज्यको ५० करोड रुपैयाँ घाटा भएको बताएका हुन् ।
अन्तक्र्रियामा खनिज तथा खानी सङ्घका अध्यक्ष गोपालराज रेग्मीले वार्षिक पाँच सय मेट्रिक टन रत्न, पत्थर निकासी रोकिएको बताए । उनले भने, ‘उद्योग मन्त्रालय रत्न, पत्थर क्षेत्रको विकासका बाधक तत्वलाई निर्मूल गर्नेतर्फ उदासीन छ ।’
उनले मुलुकमा उत्पादित कच्चा पदार्थको स्वदेशमा नै प्रशोधन गर्नुपर्ने भन्दै राज्यलाई तत्काल यसबारे निर्णय लिन आग्रह गरे । राज्यले तीन वर्ष अगाडि स्वदेशमै रत्न उद्यमको विकास गर्नुपर्ने मनसायले निकासी बन्द गरे तापनि हालसम्म केही काम हुन नसकेपछि मुलुकले यति ठूलो घाटा व्यहोर्नुपरेको हो ।
घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले रत्न पत्थर क्षेत्रको स्तरलाई बढाउनका लागि सरकार सकारात्मक रहेको बताए । उनले भने, ‘रत्न पत्थरको विकास र विस्तारका लागि उद्योग मन्त्रालय गम्भीर छ ।’ रत्न पत्थर प्रशोधन गर्ने मेसिन भित्र्याउने काममा विभाग लाग्ने उनले स्पष्ट पारे।
नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक विमल नेपालले रत्न तथा पत्थरको बजार राम्रो भए पनि आवश्यक तालिम र प्रशोधन मेसिन नहुँदा यो क्षेत्र ओझेलमा परेको बताए।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले देशका विभिन्न भागमा रत्न पत्थरहरु भए पनि जनशक्तिको अभाव र यससम्बन्धी स्पष्ट नीति नहुँदा काम गर्न नसकिएको बताए। नेपाल हस्तकला महासङ्घ,उद्योग परिषद्का संयोजक रत्नेश्वरी श्रेष्ठले कच्चा पदार्थको नियमित आपूर्ति नहुनु,दक्ष जनशक्तिको अभाव,प्रविधि भित्र्याउन नसक्नुलगायतका समस्याले नेपालको रत्न,पत्थर व्यवसाय सङ्कटमा परेको बताए।
नेपालमा हाल हिमाली क्षेत्रमा अक्वामेरिन, निलम, रुवी, टुर्मालिन महाभारत क्षेत्रमा काइनाइट, क्वार्ज, ज्यास्पर र चुरे क्षेत्रमा क्वार्जाइट, ज्याम्परलगायतका रत्न तथा पत्थर रहेको पाइन्छ ।