विश्व पानी दिवसः के तपाईंलाई थाहा छः १ किलो आँप बन्न १८०० लिटर पानी चाहिन्छ



काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस सोमबार विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान पानी’ रहेको छ । हामीले यसका लागि जति मूल्य तिर्छौं, त्योभन्दा बढी स्वच्छ खानेपानीको महत्व छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनुपर्ने यथार्थलाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसंघले यो नारा तय गरेको छ ।

पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् ।

हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ ।

पृथ्वीको दुई तिहाइ भू-भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् ।

स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वर्द्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।

यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।

दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ ।

पानी दिवसका सन्दर्भमा अनेकन रमाइला प्रसंगहरु पनि रहेका छन् । वैज्ञानिकहरुका अनुसार झण्डै १८०० लिटर पानीबाट एक किलो आँप तयार हुन्छ । पृथ्वीको ७१ प्रतिशत हिस्सामा पानी भएपनि पिउन लायक पानीको मात्रा ३ प्रतिशत मात्रै रहेको छ ।

कूल ४ लिटरको जगमा पानी भर्दा मात्रै एक चम्चा पानी पिउन लायक निस्कने जानकारहरुको भनाइ छ । सन् २०१८ मा दक्षिण अफ्रिकाको केपटाउनमा सबैभन्दा ठूलो पानीको संकट देखा पर्यो ।

अवस्था यस्तो भयो कि मानिसलाई पिउने पानीका लागि नै कुपन दिनुपर्ने अवस्था आयो । हरेक दिन नुहाउने विषयमा समेत रोकावट भयो । यही दौरानमा नै डे जिरोको अवधारणा आएको हो ।

जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै गएको छ । नेपालका केही स्थानमा चर्को सुक्खा देखिन थालेको छ । भारतको कुरा गर्ने हो भने १३ राज्यका ३०० जिल्लामा पिउने पानीका लागि संघर्ष गरिरहेको छ ।

पानीको अभावमा भारतमा मात्रै हरेक वर्ष ५ लाख मानिसको ज्यान जाने गरेको छ ।

संसारको कूल पानीको हिस्सामध्ये भारतको मात्रै ४ प्रतिशत रहेको छ । जबकी कूल जनसंख्यामध्ये १५ प्रतिशत भारतमा रहेको छ ।

जानकारहरुका अनुसार एक किलो चिनी तयार पार्नका लागि १ हजार ७२२ लिटर पानी खर्च हुन्छ । वैज्ञानिकहरुका अनुसार १ किलो आलुमा २८७ लिटर पानी खर्च हुन्छ ।

१ किलो स्याऊ बन्न ८२२ लिटर बराबर पानी खर्च हुन्छ । त्यस्तै १ किलो टमाटर बन्न २१४ लिटर र १ किलो चामलका लागि २ हजार ४९७, एक किलो मिल्क पाउडरका लागि ४ हजार ७४५ लिटर र १ दर्जन केराका लागि ७९० लिटर बराबरको पानी खर्च हुनेछ ।

संसारभर रहेका ८५ प्रतिशत बढी आवादी यस्तो स्थानमा रहेको छ , जहाँ पानीको अवस्था एकदमै कम रहेको छ । कतार, इजरायल, इरान, लिबिया, जोर्डन, कुवेत, साऊदी अरब, भारत, पाकिस्तानलगायत विभिन्न १७ देश डे जिरोका नजिक छन्् ।
जानकारहरुका अनुसार भारतमा २०३० सम्म ४० प्रतिशत बढी आवादी क्षेत्रमा पानीका लागि संघर्ष हुने अवस्था देखा परेको छ । किनकी पानीको स्रोत कम हुँदै जाँदा त्यसको प्रभाव समाजका हरेक क्षेत्रमा पर्ने निश्चितप्राय रहेको छ ।

भारतको कूल उपभोग हुनेमध्ये ८५ प्रतिशत पानी खेतीमा प्रयोग हुन्छ । त्यसमा पनि ४५ प्रतिशत पानी त केवल धान खेतीका लागि मात्रै प्रयोग हुन्छ ।

नेपालमा सरकारले ९० प्रतिशत बढी नागरिकमा पानीको स्रोत उपलब्ध गराएको दावी गरिरहेको बेला भारतमा भने ६ करोड ३० लाखमा सफा पानी पुग्न सकेको छैन ।

भारतको अनुमान नीति आयोगका अनुसार सन् २०११ मा शहरी क्षेत्रमा बस्नेले १३५ लिटर पानी खर्च गर्थे भने सन् २०२१ मा आइपुग्दा १५० लिटर खर्च गरिरहेका छन् । जबकी सन् २०११ मा ग्रामीण क्षेत्रमा बस्नेले मात्रै ४० लिटर पानी एकजनाले खर्च गरेका थिए ।

विवरण अनुसार सन् २०३१ मा शहरी क्षेत्रमा बस्नेले १६५ लिटर पानी खर्च गर्दा ग्रामीण क्षेत्रमा बस्नेले ५० लिटर प्रतिव्यक्तिका दरले खर्च गर्नेछन् । सन् २०५१ मा पुुग्दा भारतको शहरी क्षेत्रमा बस्नेले एक दिनमा २०० लिटर पानी खर्च गर्ने अवस्था आउने नीति आयोगको भनाइ छ ।

जानकारहरुका अनुसार २०० स्क्वायर फिटको घरमा वाटर हार्वेस्टिङ सिस्टम बनाएको खण्डमा एक वर्षका लागि आवश्यक पानीको जोगाड गर्न सकिन्छ । पानी संकटमा रहेको भारतको तामिलनाडुमा वर्षातको पानी संकलन गर्न ठुला ठूला हार्वेस्टिङ ट्यांकी नै बनाइएको छ ।

विश्वभर पानीको संकट भइरहेको बेला नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेको मूलको पानीलाई व्यवसायिक रुप दिन सकिन्छ ।

त्यसतर्फ सरकारी तहबाट हालसम्म कुनै प्रयास भएको छैन । ग्लासियर वाटरलाई प्रशोधन गर्ने हो भने नेपालले आान्तरिक खपतका अलावा विदेशी बजारमा समेत स्वच्छ पानी पुर्याउन सक्छ ।


क्लिकमान्डु