डिसहोम गोमा अब ७० वटा च्यानल
काठमाडौं । डिसहोमले ग्राहकलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा डिसहोम गो शुरु गरे यता २० वटा च्यानल मात्र सञ्चालन भइरहेकोमा, अबदेखि डिसहोम गो प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।
यससँगै डिसहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि शुरु गरेको छ । जसमा आफूले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्नेछन् ।
कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिसहोम गो मोबाइल एप ल्याएको थियो ।
डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।
डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै डिसहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।