फेकन एप निर्माण गरी प्रभावकारी सञ्चारमा जोड दिनेछुः फेकनका महासचिव पदका उम्मेदवार राजु निरौला



स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को १०औं वार्षिक साधारणसभा यही फागुन ८ गते राजधानीमा आयोजना हुँदैछ । साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमितिको महासचिव पदमा लागि राजु निरौलाले उम्मेदवारी दिएका छन् । निरौलासँग कोरोना महामारी र यसले पारेको असर, महासचिवका रुपमा एजेन्डाका विषयमा क्लिकमाण्डू डट कमले गरेको कुराकानीको अंश ।

फेकनको १०औं साधारणसभाको मिति नजिकिँदै छ । कस्तो छ तयारी ?
गत वर्ष नै हुनुपर्ने १०औं वार्षिक साधारणसभा कोरोना महामारीका कारण हुन सकेन । एक वर्ष पछि सार्नुपर्ने बाध्यता आइलाग्यो । तर जे भए पनि साधारणसभा अहिले हुने अवस्था आएको छ । फागुन ८ गते साधारणसभा हुँदैछ । त्यसका लागि हामीले विगतको भन्दा निकै भव्यरुपमा मनाउने योजनाका साथ तयारी तीव्र पारेका छौं ।

कोरोनाका कारण अहिले एजुकेशन कन्सलटेन्सी क्षेत्र संकटमा परेको छ । यसलाई कसरी चिर्नुहुन्छ ?
कोरोनाका कारण अहिले अधिकांश देशका बोर्डरहरु बन्द अवस्थामा छन् । हामीले विशेष गरी अष्ट्रेलिया, जापान, न्यूनजिल्याण्ड, अमेरिका र डेनमार्कलगायतका मुलुक नै हुन् । बोर्डर खुला भइसकेपछि फेकनलाई ती देशमा रहेको विश्वविद्यालय र कलेजसँगको सहकार्यमा फेकनलाई स्थापित गराउन भूमिका खेल्नेछु । फेकनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नमा मेरो भूमिका रहनेछ ।

महासचिवको उम्मेदवारका रुपमा तपाईंका एजेन्डाहरु के–के छन् ?
सबैभन्दा पहिलो एजेन्डा त फेकनको हितमै काम गर्ने हो । अध्यक्षले लिएका एजेन्डालाई मूर्तरुप दिने पनि मेरो एजेन्डा नै हुनेछ । त्यसबाहेक संगठन बिस्तारमा मैले जोड दिनेछु । हाल हामीले गण्डकी प्रदेशमा विस्तार गरिसकेका छौं भने अब बाँकी ६ वटा प्रदेशमा पनि शाखा बिस्तार गरी कुल सदस्य संख्या ४ सयभन्दा माथि बनाउने योजना बनाएको छु ।

साथै विद्यार्थीहरुले ट्युसन शुल्क पठाउँदा सरकारले २ प्रतिशत कर लिने गरेको छ । यस्तो अवस्थामा २ प्रतिशत कर वापतको कर भिजा लागेमा बीमा लगायतका काममा प्रयोग गर्नुपर्छ भने भिजा नलागेको अवस्थामा कर फिर्ता गर्नुपर्छ ।
त्यसबोहक शिक्षा मन्त्रालयसँगको समन्वय र सहकार्यमा संस्थाको क्षमता वृद्धिका लागि र स्थापित गराउनका लागि काम गर्नेछु । फेकनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउनका लागि पनि मेरो भुमिका हुनेछ । त्यसका साथै यस क्षेत्रमा विदेशी लगानीलाई निरुत्साहित गर्नका लागि मैले आफ्नो तर्फबाट भूमिका निर्वाहन गर्नेछु ।

महासचिवका रुपमा सदस्य संस्थासँगको जनसम्पर्क स्थापनाका लागि के गर्न सकिन्छ ?
अहिले मैले सचिवका रुपमा काम गरिसकेको छु । अब सदस्य संस्थाहरुसँगको प्रभावकारी र छिटो सम्पर्कका लागि फेकन एप निर्माण गरेर कार्यान्वयनमा ल्याउने छु । अहिले सदस्य संख्या पनि ठूलो भइसकेकाले कार्यालय व्यवस्थापनका लागि पनि मेरो भूमिका हुनेछ । एपमार्फत छिटो र छरितो रुपमा सूचना प्राप्त गर्न सक्नेछ ।

निर्वाचनमा सहभागी हुने सदस्यहरुलाई के भन्नुहुन्छ ?
म अहिले महासचिव पदमा उम्मेदवार दिँदैछु । मैले सचिव पदमा रहँदा गरेको काममा मूल्यांकन गर्दै आगामी दिनमा महासचिवका रुपमा काम गर्नका लागि मलाई भोट दिनुहुनेछ भन्ने विश्वास छ । महासचिवका रुपमा फेकनमा बसरे सदस्य संस्थाहरुको हितमा काम गर्ने गरी मलाई निर्वाचित गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ ।


क्लिकमान्डु