अघिबढ्यो ७.५ मेगावाटको खोरुङ्गाखोला आयोजना
१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो छानबिनका कारण आयोजना २ वर्ष ६ महिना ढिला भए पनि सम्झौता गर्न आफूहरु सफल भएको जानकारी दिए ।
प्रबन्ध निर्देशक डाँगीका अनुसार वर्षादको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता गरिएको हो ।
तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरङाखोला आयोजनाको निर्माण प्रक्रिया सुरु गरेको छ । आयोगले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै उक्त आयोजनाको अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।
कम्पनीले २०७६ पुस १ गते आयोजना सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको छ । आयोजनाले जग्गा खरिद र पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको जनाएको छ । आयोजना बनाउन एक अर्ब ३४ करोड लाग्नेछ ।
यसअघि आयोगको कारबाहीमा नपरेको भए आयोजना २०७४ पुसमा सम्पन्न हुने थियो ।
कुल लगानीको ३० प्रतिशत प्रवद्र्धक र ७० प्रतिशत ऋण लगानी गरी आयोजना अगाडि बढाउन लागिएको जानकारी दिँदै निर्देशक डाँगीले स्थानीयबासीलाई १० प्रतिशत र आम नागरिकलाई २० प्रतिशत सेयर वितरण गरिने बताए ।