हायात होटलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड अन्तर्गतको हायात होटलले लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने भएको छ । कोरोनाका कारण नाफा घटेसँगै कम्पनीले लगानीकर्तालाई दिने लाभांशमा समेत कमी आएको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको नाफाबाट हाल कायम भएको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको १० प्रतिशत १८ करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) दिने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णय गरेका उक्त लाभांश वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

कोरोना महामारीका कारण चालु आवमा मात्रै करिब ८ करोड रुपैयाँ घाटामा गएको होटल्सले अहिले खर्च कटौतीको रणनीति अपनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १२.६३ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ७.३४ प्रतिशत नगद लाभांश दिएको थियो ।


क्लिकमान्डु