विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० देशमध्ये एक नेपाल: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० वटा देशमध्ये एउटा नेपाल भएको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै उनले उक्त दावी गर्न भ्याए ।

रानीपोखरी र धरहरा आफूले बनाएको र यसलाई नेकपाका अन्य नेताहरुले राम्रो काम भन्न नसकेको तर्क पेश गर्दै उनले आर्थिक वृद्धिमा नेपालले राम्रो प्रगति गरेको भन्ने भ्याए ।

उनले मानव विकास सूचकांकमा तीव्रताका साथ अगाडि बढ्दै जाने देशमा पनि नेपाल अगाडि रहेको उनको भनाइ छ ।

‘आज विश्वमा नेपाल कहाँ छ ?, कतिले नेपाल सुनेकै थिएनन, नेपाल कहाँ छ थाहा थिएन । अहिले नेपाल कहाँ छ । नेपालका प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुन्थेन, अहिले भारतको हरेक मान्छेलाई सोध्नु भयो भने हरेकलाई कण्ठ छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा हामीलाई चिनिन थालेको छ, हामीलाई सुनिन थालेको छ ।’

उनले भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको प्रशंसा गर्न भ्याए । भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनफिनले समृद्ध नेपाल र सुखी नेपालीको नारा ठीक भएको भन्दै प्रशंसा गरेको समेत भन्न भ्याए । तर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले यसबारेमा केही नबोलेको भन्दै आक्रोश व्यक्त गरे । उनले यसबारेमा बरु ढुंगो बोल्ला तर उहाँहरु नबोल्ने बताए ।

‘यो मान्छेले नेतृत्व गर्न पायो भने त देश सर्लक्कै बन्छ भनेर केही मान्छेको मन भतभती पोल्यो । छिर्के लाउन खोजे, रोक्न खोजे । अहिले सडकमा आएर गाली गर्छन् । उहाँहरुले मानवीय संवेदनाको ऋयाल राखे हुन्थ्यो, देख्नेलाई लाज लागिसक्यो,’ उनले भने ।

उनले ४ सयभन्दा बढी पुल निर्माण गरेको र भूकम्पले भत्काएले ७ लाखभन्दा बढी घर निर्माण गरेर पीडित जनतालाई हस्तान्तरण गरेको बताए । उनले चक्रपातका कारण भत्किएका घरहरु केही महिनामै दिइएको समेत बताए ।


क्लिकमान्डु