विदेशी कामदारलाई अमेरिका प्रवेशमा मार्च ३१ सम्म प्रतिबन्ध



ग्रीन कार्ड आवेदन तथा अंशकालिन विदेशी कामदारहरु अमेरिका प्रवेश गर्नका लागि लगाइएको प्रतिबन्ध केही समय अझ लम्बिने भएको छ । ट्रम्प प्रशासनले गत अप्रिल र जुन महिनामा यो रोक लगाएको थियो । यी दुबै प्रतिबन्ध बिहीबार ३१ डिसेम्बरसम्मका लागि थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको अवधि बढाएर ३१ मार्च २०२१ सम्म पुर्याएका छन् । उनले कोरोना भाइरसको महामारीबाट प्रभावित अर्थव्यवस्थामा अमेरिकी कामदारको रोजगार सुरक्षाका लागि यो प्रतिबन्ध जरुरी भएको बताएका छन् । तर त्यहाँका धेरै कम्पनी तथा कारोबारीहरुले प्रतिबन्धको विरोध गरेका छन् ।

जनवरी २० मा अमेरिकाका राष्ट्रपति बन्ने जो बाइडेनले यो प्रतिबन्धको आलोचना गरेका छन् । तर उनले यो प्रतिबन्ध तुरुन्तै हटाउने विषयमा भने स्पष्ट जवाफ दिएका छैनन् ।

ट्रम्पले प्रेसिडेन्सियल प्रोक्लेमेसनका आधारमा यसलाई रोक्का लागि आदेश दिएका थिए । जसलाई तुरुन्तै रद्द गर्न सकिन्छ । तर अमेरिकामा कोरोा भाइरसको महामारी अझै थामिने अवस्था छैन । अहिले त्यहाँका २ करोड जनसंख्या बेरोजगार भत्तामा गुजारा गरिरहेका छन् ।


क्लिकमान्डु