कोरोना बीमा दावी भुक्तानीका लागि कम्पनीले आवश्यक कागजपत्र नपठाउँदा समस्याः बीमा समिति



काठमाडौं । बीमा कम्पनीहरुले प्राप्त आवश्यक कागजपत्र तयार नपारी दावी भुक्तानीका लागि पुलमा पठाएको बीमा समितिको अनुगमनले देखाएको छ ।

कोरोना बीमा र सोको दावी हाल पुलमार्फत् भइरहेको छ । सो पुलको व्यवस्थापनको जिम्मेवारी लिएको शिखर इन्स्योरेन्समा बुधबार समितिले स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कम्पनीले गरेको चार मुख्य गल्ती र कम्पनीमा भएका समस्या पत्ता लगाएको छ । यसबारेमा समितिले बिहीबार विज्ञप्ती जारी समेत गरेको छ ।

बीमितले समयमा नै दावी भुक्तानी नपाएको गुनासो बढ्दै गएपछि नियमक निकायले दावी भुक्तानीको अवस्थाबारे हाल कम्पनीहरुमा स्थलगत अनुगमन गरिरहेको छ ।

शिखर इन्स्योरेन्समा समितिका अध्यक्ष चिरञ्जीवि चापाँगाई, कार्यकारी निर्देशक र अन्य अनुमगन टोलीले गरेका हुन् । जसमा कम्पनीहरुले कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेको आवश्यक कागजातहरु पूरा भए नभएको यकिन नै नगरी बीमा कम्पनीहरुले अधुरो फाइल पुलमा पठाएका भेटिएको हो ।

अनुगमनपछि समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दावी भुक्तानीका लागि सबै कागजात हेरेर र रुजु गरेर मात्रै पठाउन निर्देशन दिएको छ ।

विज्ञप्तिअनुसार कोरोना बीमाको दावी भुक्तानीको क्रममा पिसिआर रिपोर्ट स्वास्थ्य सेवा विभाग मातहतको इसीडिसीमार्फत् भेरिफिकेशनका लागि समय लागेको उल्लेख गरिएको छ ।

साथै एकै बीमतिले एकभन्दा बढी कम्पनीबाट बीमा गरेका हुँदा भेरिफिकेशन र दोहोरो भुक्तानी रोक्न केही समय लाग्ने बताइएको छ ।

त्यस्तै, कात्तिक र मंसिरमा कर्मचारीहरु सबैभन्दा धेरै कोरोना संक्रमित भई दैनिक कार्य सञ्चालन अवरुद्ध भएको र हाल थप चाप परेको हुँदा नियमित भुक्तानी भए पनि बीमितलाई केही समय धैर्य गर्न अनुरोध गरिएको छ ।

समितिका अनुसार हालसम्म कागजात पूरा भएका कोरोना दावी भुक्तानी १७ हजार २ सय ३५, भेरिपिकेशनका लागि स्वास्थ्य विभाग पठाएको ४ हजार १ सय ५१ विभागबाट भेरिफिकेशन भएर आएका २ हजार ४ सुय ९३ वटा छन् ।

साथै, हालसम्म ८ हजार १ सय ४५ वटा दावी भुक्तानी भएको छ, भने ९ हजार ९० कागजात पूरा भएका र १ हजार १ सय ३६ वटा कोरोना दावी भुक्तानीको कागजात पूरा भएको छैन ।


क्लिकमान्डु