ल्हासा नगरले महानगरलाई दियो झण्डै २ करोडको कम्प्रेस्ड गारवेज ट्रक



काठमाडौं । चीनको तिब्बत स्वशाशित सहर ल्हासाले काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक सहयोग गरेको छ ।

असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ ‘नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातारण सफा र स्बच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।’

ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न आएका ल्हासा नगरका मेयर गुहेओ गुहेओले ल्हासा नगरबाट गारवेज ट्रक दिने बचन दिएका थिए । काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बचन अनुसार यो सहयोग दिएको जनाएको छ ।

यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइएको थियो । १५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए ।

१९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ ।


क्लिकमान्डु