सिटिजन्स बैंकको साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारणसभाले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश सहित ११ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
बैंकले बोनसको लागि ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने २७ करोड २६ लाख ९४ हजार ५१८ रुपैयाँ ६९ पैसा बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास बताए ।
बैंकले आर्थिक वर्ष २०७६/७७ सम्ममा ९२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८१ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले सोहि अवधि भित्र १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको बैंकले जनाएको छ ।
बैंकले देशैभरी फैलिएका १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको जनाएको छ ।
कोभिड-१९ को त्रास अझै पनि कायम रहेको भन्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइ बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनेर मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको जनाएको छ ।