भगिनी सम्बन्ध जोड्दै महानगरः पर्यटन, संस्कृति, सम्पदामा जाेड, कृषिको कहिले आउला पालो ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाले जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको छ ।
त्यसका लागि त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको महानगरका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए ।
शाक्यले दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने बताए । ‘काठमाडौंमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन, मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथान बिच भगिनी सम्बन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक छ,’ शाक्यले भने, ‘प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखि क्रियाकलाप संचालनका लागि साझेदारी गर्न चाहेका छौँ ।’
शाक्यले यसअघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी गराए ।
‘हामीले यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएका छौँ,’ उनले भने, चन्दननाथसँग पनि भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय काठमाडौँ महानगरपालिकाको यस अघि नै निर्णय गरिसकेको छ । उपयुक्त समयमा हामी दुई नगरबिच सझदारीपत्रमा हस्ताक्षर गर्न तयार छौँ ।’
भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन लगायतका विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताए । ‘उहाँले रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताए ।
चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘यो हाम्रा लागि खुशीको पल हो,’ उनले भने, ‘हामी दुई नगरबिच धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढ्न सकिन्छ ।’ कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भगिनी सम्वन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताइन् ।
आजै धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग छलफल भयो । छलफलमा प्रमुख राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्बन्ध स्थापनाका लागि प्रस्ताव राखे ।
महानगरले यतिबेला भगिनी सम्बन्ध स्थापनाका क्रममा पर्यटन, संस्कृति, सम्पदालाई प्राथमिकतामा राखेको छ । तर कृषिको लागि खासै ध्यान दिएको छैन् । तथापी काठमाडौंका मेयर शाक्यले जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन लगायतका विषयमा सहकार्य गर्न सकिने मात्रै बताएका छन् ।
यसमा ठोस निर्णय दिन सकेका छैनन् । अहिले पर्यटन, संस्कृति, सम्पदा मात्रै नभएर कृषि उपज, जडिबुटीलाई पनि यसमा राख्ने र देशका विभिन्न भागमा उत्पादन हुने बस्तुलाई उपत्यकामा ल्याएर बिक्री वितरण गर्ने प्रणालीलाई विकास गर्ने हो भने मानिसले स्वस्थ्य तरकारी खान पाउने चर्चा सुरु भएको छ ।
त्यती मात्रै नभएर भगिनी सम्बन्ध स्थापना भएका जिल्ला वा क्षेत्रमा कृषकले उत्पादन गरेको फसलले पनि उचित बजार पाउने र कृषकले पनि लाभ लिने सक्ने जानकारहरु बताउन थालेको छन् । जानकारहरुको अनुसार महानगरले यसतर्फ ध्यान दिन सकेको खण्डमा तरकारीको आयात कम हुने र आन्तरिक खपत बढनुका साथै रोजगारी सृजनामा समेत सहयोग हुने देखिएको छ ।