बजेटका प्राथमिकता परिवर्तन गर्दै अघि बढ्छौं, नेकपाको विवाद देखेर लाज लाग्छः अर्थमन्त्री



नेकपाका महासचिव बिष्णु पौडेलको विशेषता सबैलाई मिलाएर लैजाने खालको छ । विज्ञ भनिएका अर्थमन्त्रीलाई राजदूत बनाएर प्रधानमन्त्री केपी ओलीले पौडेललाई अर्थमन्त्री बनाए छन् । पछिल्लो समय नेकपाको आन्तरिक राजनीति गंभीर संकटमा छ । यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेका अर्थमन्त्री पौडेल कोरोना भाइरसले अर्थतन्त्र थिलथिलो बनेको बेला दोस्रो पटक अर्थमन्त्री बनेका छन् । यस्तो अवस्थामा अर्थमन्त्री पौडेलसँग अर्थतन्त्रलाई गतिशिल बनाउने के कस्ता योजनाहरु छन्, नेकपाको राजनीति कता जान्छ ? र, नेकपाको विवादले सरकारलाई काम गर्न के कस्ता चुनौति थपिएका छन् ? यस्तै विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले गरेको कुराकानीः

एकातिर कोरोना भाइरसका कारण पूरै देश र अर्थतन्त्र अस्तव्यस्त भएको र अर्कातिर सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा देशको ढुकुटी सञ्चालनको जिम्मा लिनु भएको छ । अर्थतन्त्रका चुनौतीहरु के के देख्नुभयो ? र, त्यसको कसरी सामना गर्ने योजना बनाउनु भएको छ ?

अहिले अर्थतन्त्र निकै नै चुनौतीपूर्ण अवस्थामा छ । आर्थिक सिथिलता छ । रोजगारीको वातावरण सिर्जना गर्नु छ । कोभिड–१९ को कारण विश्वव्यापीरुपमा सिर्जना गरेको चुनौती हो । हामीले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्दै कोभिडलाई परास्त गर्दै उत्पादन कार्यलाई अघिबढाउने र रोजगारीका अवसरहरु सिर्जना गर्ने काम गर्ने छौं । अर्थतन्त्रमा जुन खाले संकुचनको अवस्था देखा परेको छ, यसलाई समाधान गर्दै अगाडि बढ्ने तयारी गरेका छौं ।

कोरोनाका कारण अघिल्लो वर्षको आर्थिक बृद्धिदर ऋणात्मक हुनमात्र जोगियो । यो वर्ष पनि ऋणात्मक हुनबाट मात्रै जोगिएला कि भन्ने प्रक्षेपण छ । अर्थतन्त्र उकास्नका लागि तपाईंले के कस्ता ठोस योजना बनाउनु भएको छ ?

खासगरी कोभिड १९ ले जुन खाले समस्या सिर्जना गरेको छ । यसमा हाम्रो पहिलो प्राथमिकता जनताको जीवनको रक्षा हो । जीवन रक्षासँग जिविका रक्षाको कुरा समेत जोडिएको छ । हामीले कोभिडको प्रकोपबाट छिटोभन्दा छिटो मुक्त गर्नु छ भने जिविकाको रक्षा समेत गर्नु छ । जीवन र जिविकाको रक्षा सरकारको प्राथमिकता हो । अहिले हामीले कोभिडको न्यूनिकरणको लडाईं लड्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै अगाडि लैजाने हो । कोभिडको महामारीमा पनि निजी क्षेत्रलाई विश्वासमा लिएर विकास खर्चलाई बढाउने हो । कोभिड महामारीले सिर्जना गरेको आर्थिक समस्यालाई समाधान गर्न पुनरउत्थानको प्याकेजसमेत घोषणा गरेका छौ ।

कोभिडको असरलाई न्यूनिकरण गर्नका लागि सरकारसँग पर्याप्त स्रोत र साधन छ ?

स्रोत त जहिले पनि सिमित नै हुन्छन् । हाम्रा आवश्यक्ता भने असिमित हुन्छन् । यो अर्थशास्त्रको नियम पनि हो । जनताको जीवन र जिविका रक्षाको लागि हामीसँग भएको स्रोत र साधनलाई परिचालन गर्ने विषय पहिलो प्राथमिकताको विषय हो । कोभिडको लक्षण देखिएका जनताको उपचारको विषयमा सरकारले कुनैपनि खालको सम्झौता गर्दैन ।

पछिल्लो समय विश्वमा कोरोना विरुद्धको भ्याक्सिनमा ९४ प्रतिशतसम्म सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले भ्याक्सिन खरिदका लागि अध्यादेश समेत जारी गरिसकेको छ । यसअघि कोरोना चेकजाँचका मेसिन किन्दा सरकारले ठूलो बदनामी कमाएके थियो । भ्याक्सिन खरिदको प्रक्रिया कस्तो हुन्छ ?

कोभिडसँग निर्णायक लडाई लड्नका लागि भ्याक्सिन आवश्यक छ । भ्याक्सिनको आविस्कार विभिन्न देशले आफ्नो हिसाबले गरेका छन् । सफलताको अन्तिम चरणमा रहेको कुरा आएको छ । विश्वमा भ्याक्सिन सफल भएपछि प्रत्येक नेपालीलाई भ्याक्सिनको पहुँच सुनिश्चित हुने व्यवस्था गरेका छौं । यसका लागि हामीले कानून सुधारको काम गरेका छौं । कुटनीतिक च्यानलबाट भ्याक्सिन ल्याउने प्रक्रिया थाल्ने छौं । हामीले भ्याक्सिनका लागि सम्भावित देशसँग संवाद् अगाडि बढाइसकेका छौं । भ्याक्सिनका लागि आवश्यक पर्ने स्रोत साधनको अभाव हुँदैन । भ्याक्सिन आपूर्तिका लागि स्रोतको अभाव हुँदैन । भ्याक्सिन मावन जीवनमा लगाउन मिल्ने हुनासाथ ल्याउँछौं । यस विषयमा हुने सबै कारवाही खरिद प्रक्रिया कानूनअनुसार पारदर्शी तरिकाले हुन्छ । लागतको हिसाबले सस्तो हिसाबले गर्ने हुन्छ । गुणस्तरीय भ्याक्सिन ल्याउने काम गर्छौैं ।

तपाई पहिलोपटक अर्थमन्त्री भएको बेला नेप्से इन्डेक्स उच्च बिन्दुमा थियो । अहिले फेरि तपाई अर्थमन्त्री भएपछि कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । यो संयोग हो कि तपाईंले गरेको चमत्कार ?

अहिले लगानीकर्ताहरुमा विश्वास बढेको छ । म योभन्दा बढी केही भन्न चाहन्न । किन यस्तो भयो भने तपाईंहरुजस्तो आर्थिक क्षेत्रमा कलम चलाउने साथीहरुले मूल्यांकन गर्नुहुन्छ । कलम चलाउनुहुन्छ भन्ने मेरो विश्वास हो ।

अढाई वर्षसम्म निजी क्षेत्रसँग सरकारको सम्बन्ध हार्दिकता देखिएन । उद्योगी व्यवसायीहरु अर्थमन्त्रीसँग आफ्ना समस्या र गुनासा राख्न समेत डराउँथे । तर, तपाईंको स्वभाव मिलनसार छ । अब निजी क्षेत्रलाई कसरी विश्वासमा लिएर अगाडि बढ्नुहुन्छ ?

तपाईंले सोधेको प्रश्नमै जवाफ छ । म यसलाई जादु भन्दिन । म त्यसमा विश्वास समेत गर्दिन । तर, परिस्थितीलाई सहज बनाएर प्रत्येक नेपालीको आत्मविश्वास बढाउनुपर्छ ।

सरकार अर्थमन्त्रीको रुपमा आफुले बुझ्ने कुरा भएको समस्या समाधान गर्ने हो । कहिले चाहे अनुसारको समाधान नहुन सक्छ । उत्पादनका हरेक क्षेत्रहरु रोजगारी सिर्जना गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउन लगानीकर्ताको मनोबल बढाउने । लगानीकर्ताले भोगेको कठिनाईलाई सहज बनाउने काम हामीले गर्ने छौं । त्यसले हामीसँग देखिएको चुनौतीलाई समाधान गर्न सकिन्छ । यसमा मिडियाबाट दिने सुझावले समेत सुधार गर्न मद्दत पुग्छ । मिडियामा आएका आलोचनात्मक सुझावलाई मैले ध्यान दिने गरेको छु । यसरी आएका सुझावहरु देशका लागि फाइदा हुनेछन् भने हामी कार्यान्वयन गर्ने छौं ।

तपाईं अर्थमन्त्री बनेर आएपछि करका केही नीतिहरु परिवर्तन गर्नुभयो । विगतमा सरकारले गलत नीति लिएकाले करेक्नस गर्नुभएको हो कि ‘इगो ‘पोख्नु भएको ?

व्यक्तिको जीवन, राज्यको जीवनउस्तै कुरा हो । यात्राको सन्दर्भमा आएका सुझावलाई अगाडि बढ्दै जाने हो । मेरो आग्रह अनुभवबाट लिने शिक्षाबाट अगाडि बढ्ने हो । विगतमा गल्ती भयो भनेर त म भन्दिन । तर अहिलेको आवश्यकता अनुसार नीतिहरु परिवर्तन गरिएको हो ।

तपाईंले अर्थमन्त्री पद समाल्दा ऋणको भार निकै बढ्दो क्रममा रहेको छ । राजस्व लक्ष्य अनुसार कठिन छ । यसलाई कसरी अगाडि बढाउनु हुन्छ ?

चालु आर्थिक वर्षको ४ महिनामा कात्तिक महिनाको मात्र लक्ष्य पुरा भएको छ । तीन महिनासम्म लक्ष्य पुरा भएको छैन । हामीले वित्तीय शुसासन राजस्व प्रशासनको प्रभावकारी परिचालन गर्ने छौं । हामीले राजस्वको लक्ष्य पुरा गर्नेतर्फ लाग्ने छौं । दोस्रो कुरा अन्तर्राष्ट्रिय सहयोगको पाटो हो । त्यसमा लक्ष्यको सिमाको बाटोसम्म जाने छौं । बजेटले स्रोतको सम्बन्धमा जस्तो प्रक्षेपण गरेको छ ।

अर्थमन्त्रालय करमन्त्रालयको रुपमा चिनियो । यसलाई लगानीमैत्री मन्त्रालय कसरी बनाउनुहुन्छ ?

पूर्वाधार र आर्थिक लगानी बढाएर पूर्वाधारसँग सम्बन्धित मन्त्रालयसँग समन्वयन गरेर हामी अघि बढ्छौं । हाम्रो प्राथमिकता लगानी बढाएर राजस्व बढाउने र रोजगारी सिर्जना गर्ने हो । राजस्वमा मात्र थोपर्ने होइन ।

अब लकडाउन हुन्छ कि हुँदैन ?

अहिलेसम्म हामीले लकडाउनको बारेमा सोचेका छैनौं ।

तपाईं जुन बजेट कार्यान्वयन गर्दै हुनुहुन्छ, त्यसले कोरोनालाई नजरअन्दाज गरेको भनेर आलोचना भइरहेको छ । कोरोनाको असरलाई सम्बोधन गर्न पुरक बजेट आवश्यक भएको भन्दै सरोकारवालाहरुले यसको माग पनि गरिरहेका छन् । तपाईं के गर्नुहुन्छ ?

अहिले हामी बजेट कार्यान्वयनको मध्यावधी समिक्षाको क्रममा छौं । १२ महिनाको अवधीमा पहिलो चौमासिक सकिएको छ । अहिले हामी मूल्यांकनको क्रममा छौं । त्यो आधारमा अगाडि बढ्ने हो । अर्को बजेटको ध्यान कोभिडतर्फ नगएर अर्कोतर्फ गएको भन्ने होइन । स्वास्थ्य क्षेत्रसँग कुराहरु र कोभिड न्यूनिकरणको लागि स्रोतको अभाव हुन दिने छैन । कोभिडसँग लड्दै हामी अगाडि बढ्ने हो । मध्यावधि समीक्षाबाट बजेटका प्राथमिकताहरु परिवर्तन गर्न सकिन्छ । पूरक बजेट ल्याइहाल्नु पर्ने अवस्था छैन ।

तपाईं अर्थतन्त्रको विज्ञ पनि होइन । भूतले खाजा खाने बेलामा त्यो पनि विज्ञ अर्थमन्त्रीले छाडेको पद समाल्न आउनु भयो । डर लागेन ?

तपाईंहरुजस्तो कमजोरी देखाउने साथीहरु हुनुहुन्छ । आर्थिक क्षेत्र बुझेका साथीहरु निजी क्षेत्रका उद्यमीहरु हुनुहुन्छ । उहाँहरुको सहयोगले अगाडि बढ्ने छु ।

तपाईं नेकपाको महासचिव र अर्थमन्त्री पनि । निर्वाचनको बेला जनतासँग गरिएका बाचा अनुसार सरकारले के कति काम गर्यो ?

३ वर्षअघि निर्वाचनमा दुईवटा राजनीतिक दलहरु गठबन्धन बनाएर साझा घोषणापत्र बनाएर गएका थियौं । राजनीतिक स्थायीत्व कायम गर्नका लागि नेकपा एकीकरणसमेत भयो । नेकपाले अगाडि सारेको घोषणापत्र कार्यान्वयन गर्नका लागि समय थियो ।

तर, हामीले लुकाउनुपर्ने कुरा छैन । नेकपाको आन्तरिक राजनीतिक बेला-बेलामा कल्पना गर्न नसक्ने स्थितीमा पुगेको छ । राजनीतिक परिवर्तनको अभिभारा पूरा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले अत्यन्तै लोकतान्त्रिक सम्मुनत संविधान बनाएका छौं । अब हाम्रो ध्यान आर्थिक सम्बृद्धि र विकासतर्फ केन्द्रित हुनुपर्ने थियो । त्यो विकास सामाजिक न्यायसहितको विकासमा केन्द्रित हुनुपर्ने थियो । त्यसतर्फ हामी जान थालेका थियौं । तर नेकपाको आन्तरिक किचलोले सम्मृद्धिको यात्रामा असर पुर्याएको छ ।

आन्तरिक किचलोले काम गर्न सकिएन भनेर पञ्छिन मिल्छ ?

संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन हामीले जितेर आएका थियौ । संविधान कार्यान्वयनका लागि विभिन्न कानूनहरु ब्नाउनुपर्ने थियो । २ वर्ष हामीले त्यो कानूनी बनाउन खर्चेका थियौं । संघीयतामा गएको हुँदा वित्तीय संघीयता कार्यान्वयनका लागि त्यही अनुसारको कानुनका समेत कामहरु गर्यांै । तीन तहको सरकारले कानून बनाएर काम गर्न सक्ने वातावरण सिर्जना भयो ।

त्यो बेला हामीले सरकारको नेतृत्व लिएका थियौं । त्यो बेला आर्थिक सूचांकहरु गतिला थिएनन् । हामीले २ वर्षसम्म राम्रो काम गरेका थियौं । जसले बैदेशिक लगानी भन्नुहोस्, शुसासनको कुरा होस् या पूर्वाधार विकासमा समेत भिजनसहित अगाडि बढेका थियौं ।

हामीले जुन घोषणापत्र लिएर जनता समक्ष गएका थियौं । त्यो कार्यान्वयनको लागि हामीसँग बाँकी समय छ । कार्यान्वयन गरेर जनता समक्ष जाने छांै । हाम्रो पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको कठिनाईले सरकारको काम प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको सत्य हो ।

कोभिड संकटको बेला नेकपाले प्रदर्शन गरेको नाटकले जनतालाई निराश बनाएको छ । चिया पसलदेखि सामाजिक सञ्जालहरुमा जनताले आक्रोश पोखिरहेका छन् । त्यस्ता कमेन्ट देख्दा, पढ्दा तपाईंहरुजस्ता ठूला नेतालाई लाज लाग्दैन ?

जनताले गर्ने आलोचनालाई म स्वागत गर्न चाहन्छु । यात्राको क्रममा भएको त्रुटीलाई सच्याएर बढ्नु पर्ने छ । कोभिडको संकटमा हाम्रो पार्टीभित्र देखिएका विवाद राम्रो होइन । मलाई यो कुराले लज्जाबोध गराएको छ । अहिले राष्ट्रिय संकटको बेला सरकार र विपक्ष सबै मिलेर अगाडि बढ्नुपर्ने बेला हो । अभुतपूर्व राष्ट्रिय एकता गरेर अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र भएको विवादले मलाई लज्जाबोध हुन्छ ।

नेकपाभित्र विवाद हुनुको खास कारण के हो ?

पार्टीको आन्तरिक जीवनमा देखिएको विवाद समाधान गर्न सकिन्छ भनेर म आफु लागिरहेको छु । यसभन्दा अगाडि पार्टीमा देखिएका समस्याभन्दा त्यस पटक आन्तरिक जीवनमा देखिएका कुरा बढी जटिल छ । नेकपाको एकता आम जनताको चाहना हो । यो जनताको कार्यकर्ताको हो । यो जनताको चाहनाअनुसार पार्टी एकता भत्कने काम हुँदैन भन्ने मेरो विश्वास छ ।

प्रधानमन्त्रीले संसद् बिगठन गर्न लागेको हल्ला छताछुल्ल भएको छ नि ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघठन गर्नुपर्ने आवश्यक्ता नै छैन । उहाँलाई आफ्नो संसदीय दलको समर्थन छ । दलका सदस्यले अविश्वासको प्रस्ताव राखेका छैनन् । प्रतिपक्षीसँग समेत इस्यु अनुसार सहमति भएको छ । केही समयअघि अभुतपूर्व राष्ट्रिय सहमतिसमेत बन्यो । यो विषयमा प्रधानमन्त्रीले केही सोच्नु भएको समेत छैन । संसद् बिगठन हुन्छ भन्ने जे हल्ला भएको छ यो प्रायोजित हो ।

तपाईंहरुले जनतालाई ठूलो सपना देखाएर चुनावमा भोट माग्नुभयो । तर सरकारले जनताले अनुभूति हुनेगरी काम गर्न सकेन । यो त जनतामाथि धोका भएन र ?

हाम्रा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु पार्टीभित्र विवाद देखिएपनि समयमा सक्नेछौं । हाम्रो आन्तरिक जीवनको झगडाले राज्य संचालनमा नकारात्मक प्रभाव परेको आम जनतामा समेत नकारात्मक प्रभाव परेको सत्य हो । नेकपाको प्रतिप्रश्न आएको सत्य हो । हामीलाई जनतालाई निराश पार्ने गरेर बिग्रह गर्ने छुट छैन । हामीले आन्तरिक रुपमा देखिएका विवादलाई समाधान गरेर जनतालाई हामीले गरेका बाचालाई पुर्याउनुपर्ने छ ।

पार्टी एकता जोगिन्छ ?

अहिले देखिएको विवाद यसअघिको जस्तो सहज छैन । निकै नै चुनौतीपूर्ण छ । यद्यपि म आशावादी छु ।


क्लिकमान्डु