निषेधाज्ञामा पनि कर उठाउने तयारीमा सरकार, समय सार्न निजी क्षेत्रको माग



काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि पछिल्लो समय लकडाउन नभनेर निषेधाज्ञा जारी गरेको छ । लकडाउन समयमा कर नलिन सर्बोच्च अदालतले फैसला गरेको थियो ।

सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत अहिले देशमा ७० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञाको नाममा लकडाउन २ लागु गरेको छ ।
निषेधाज्ञामा पनि लकडाउनमा जस्तो सर्वसाधारणलाई घरबाट बाहिर जान अनुमति छैन । यस्तो अवस्थामा भदौ २५ भित्र सरकारलाई बुझाउनुपर्ने भ्याट तथा अन्तशुल्क बुझाउनुपर्ने हुन्छ ।

आन्तरिक राजस्व विभागले भने लकडाउन नभएको कारण करदाताले बुझाउनुपर्ने कर २५ भित्र तिर्नेपर्ने जनाएको छ । साउनमा व्यवसायीले बिक्री गरेर उपभोक्ताबाट उठाएको भ्याट रकम अनलाइन मार्फत बुझाउन सकिने हुँदा म्याद थप नहुँने राजस्व कार्यालयले जनाएको छ ।
यद्यपी असार मसान्तको तुलनामा साउनमा बिक्री त्यती ठूलो छैन । केही वस्तुको बिक्री भएपनि बिल मात्र काटिएको र पैसा नउठेको स्थिती रहेको व्यवसायीहरु बताउँछन् ।

नेपाल चेम्बर अफ कमर्शले भने अर्थमन्त्रालयका राजस्व सचिवलाई पत्र लेखेर कर तिर्ने समय पर सार्न अनुरोध गरेको छ । निषेधाज्ञाको समयमा कर तिर्न सम्भव नभएको भन्दै यसलाई पर सार्न चेम्बरले अनुरोध गरेको हो ।


क्लिकमान्डु