भारतको जीडीपी वृद्धिदर ४० वर्षयताकै खराब, पहिलो त्रैमासमा २४ प्रतिशतले घट्यो



भारतको चालु आवको पहिलो त्रैमासमा जीडीपी वृद्धिदर २३.९ प्रतिशतले घटेको छ । जुन पछिल्लो ४० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

जसले गर्दा अर्थतन्त्रको रिकभरीमा अपेक्षाभन्दा धेरै समय लाग्ने त्यहाँका विश्लेषकहरुले अनुमान गरेका छन् ।

तर देशको खराब आर्थिक अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य आर्थिक सल्लाहकार केवी सुब्रमण्यमले भने दोस्रो वा तेस्रो त्रैमासमा आर्थिक विकासको गती बढ्ने र भारतको अर्थतन्त्र ‘भी सेप’मा रिकभरी हुने दाबी समेत गरेका छन् ।

यसअघि सन् १९७९÷८० मा भारतको अर्थतन्त्र सबैभन्दा कमजोर अवस्थामा पुगेको थियो । तत्कालिन समयमा वार्षिक जीडीपी वृद्धिदर ५.२ प्रतिशतको गिरावट आएको थियो ।

भारतमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण जीडीपी नकारात्मक भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतमा सेप्टेम्बरको त्रैमासमा ४.७ प्रतिशत, जुन त्रैमासनमा ४.५ प्रतिशत र मार्च त्रैमासमा ३.१ प्रतिशतको वृद्धिदर देखिएको थियो । तर चालु आवको पहिलो त्रैमासमा भने २३.९० प्रतिशतको गिरावट देखिएको हो ।

भारतसँगै बेलायतको जीडीपीमा समेत २२ प्रतिशतको गिरावट आएको छ । त्यसैगरी फ्रान्सको जीडीपी वृद्धिदर १३.८ प्रतिशत, इटलीको जीडीपी वृद्धिदर १२.४ प्रतिशतले घटेको छ ।

त्यसैगरी जर्मनीको जीडीपी वृद्धिदर १०.१ प्रतिशत, अमेरिकाको जीडीपी वृद्धिदर ९.५ प्रतिशत र जापानको जीडीपी वृद्धिदर ७.६ प्रतिशतले गिरावट आएको छ ।

तर चीनको जीडीपी वृद्धिदर भने यसबीचमा ३.२ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु