असार महिनामा रेमिटेन्सले राख्यो रेकर्ड, १ खर्ब नेपाल भित्रियो



काठमाडौं । असार महिनामा अहिलेसम्मकै उच्च महिना अनुसार १ खर्ब रुपैयाँको रेमिटेन्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो । असार मसान्तसम्ममा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिटेन्स आएको हो ।

कोभिडको कारण गतवर्ष नै रेमिटेन्स अत्याधिक घट्ने अनुमान भएपनि आर्थिक वर्ष २०७६÷७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले घटेको छ ।

आइएमई मनी ट्रान्सफर(आइएमई)का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल विदेशमा समेत लकडाउन भएको र असारमा खुलेसँगै एकैपटक ठूलो रकम आएको कारण ठूलो रकम रेमिटेन्स आएको बताए ।

‘चैत र बैशाख महिनामा बाहिरपनि भएको लकडाउन र यहापनि भएको लकडाउनले गर्दा रेमिटेन्स आएन,जेठ लागेसँगै रेमिटेन्सको रकम बढ्न थाल्यो,’पोखरेलले क्लिकमाण्डूसँग भने ।

यो वर्ष विप्रषण आप्रवाह ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ आएको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु