किन ओरालो लाग्यो एसियाली सेयर बजार ?
काठमाडौं । अधिकांश एसियाली सेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले सेयर बजारमा असर परेको हो ।
लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन् । यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ ।
अमेरिकी सेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । अमेरिकी संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने गरी एक सम्झौतामाथि छलफल भइरहेको छ ।
एसियाली सेयर बजारमा भने कोरोनाभाइरसको संक्रमण बढेसँगै थप असर परेको देखिएको छ । खासगरी दक्षिणपूर्वी एसियाली मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो ।
सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने खतरा रहेको बताए । उनले चीन–अमेरिका व्यापार तनाबले समस्या अरु बढाएको बताए ।
जापानको सेयर बजार निक्की ०.६ प्रतिशतले घटेर २२ हजार २७३ बिन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.२ प्रतिशत, हङकङको हाङसेङ १.८ प्रतिशत तथा चीनको सांघाई कम्पोजिट १.२ प्रतिशतले घटेका छन् ।
टोयोटा मोटर कर्पको सेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको शेयर पनि २.३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै सेयर मूल्य बढेको हो ।
गएराति अमेरिकी डाउजोन्स पनि ०.७ प्रतिशतले वृद्धि भइ २७ हजार ३८७ विन्दुमा पुगेको थियो । नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ बिन्दुमा अडिएको थियो ।
अमेरिकामै गत साता करिब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।
अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी अर्थशास्त्रीहरुले सोचेझैं यो त्यति खराब अवस्था नरहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझ बढेको छ । सुनको मूल्य १२ डलरले वृद्धि भई प्रतिऔंस २ हजार ८१ डलर पुगेको छ ।
बेञ्चमार्क अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल १२ सेन्टले घटेर ४१.८३ डलरमा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा कारोबार भएको छ । बे्रन्ट कच्चा तेलमा भने प्रति ब्यारेल १० सेन्ट वृद्धि भई प्रतिब्यारेल ४४.९० मा कारोबार भएको छ ।