जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न पाउने, यात्रुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्ने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।
यो व्यवस्था लागू रहँदासम्म मात्रै ट्याक्सी बाहेकमा अन्य सवारी साधनको हकमा तोकिएको मूल्यमा ५० प्रतिशतसम्म थप भाडा लिन पाउने निर्णय गरिएको छ । तर लामो दूरीका सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।
काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन चालकबाहेक थप दुई जना एकै परिवारको भए ५ वर्षसम्मको बालबालिका चढ्न पाउने निर्णय गरिएको छ ।
त्यसैगरी ट्याक्सीमा चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रको भए ५ वर्षसम्मको बालबालिकालाई पनि चढ्न दिने निर्णय भएको छ ।
यात्रुबाहक सार्वजनिक यातायातमा सिट क्षमताको बढीमा ५० प्रतिशतसम्म हुने गरी एक पंक्तिमा सामाजिक दूरी कायम हुने गरी राख्ने र सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र दैनिकरुपमा सवारी साधन निसंक्रमित गर्ने गरी सवारी साधन सञ्चालन गर्नुपर्नेछ ।