कोरोनाले गर्दा कम्पनीको क्षमता अभिबृद्धिमा ठूलो असर गर्योः एनएलजीका सीइओ सुनिल बल्लभ पन्तको बिचार
विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालको बीमा क्षेत्रमा पनि कुनै न कुनै रुपमा असर परेको छ । प्रत्यक्षरुपमा देखिएको भनेको रेभिन्यू र प्रिमियम संकलनमा असर परेको छ । बीमा क्षेत्रमा सवारी साधनको योगदान ५० प्रतिशत छ । बाँकी ५० मा लोनको रकम ३० प्रतिशतको हाराहारीमा छ ।
बीमा नगरी नहुने बाध्यताका कारण यो क्षेत्रमा सवारी साधनको धेरै योगदान छ । कोरोनाका कारण हुनुपर्ने प्रिमियम संकलन हुन सकेको छैन । लकडाउन खुलेपछि बीमा नविकरण नभएको सम्पत्तिको नविकरण हुन थालेको छ ।
लकडाउनको समयमा प्रिमियम आएन । अब लकडाउन खुलेपछि त्यो प्रिमियम आउन शुरु गरेको छ । त्यसले रेभिन्यूनको हिसाबले धेरै ठूलो क्षति नहोला की भनेर भन्न सकिन्छ ।
अहिलेको क्षति भनेको कर्मचारीको क्षमता अभिवृद्धिमा हो । हामीले स्वदेश तथा विदेशमा पठाएर कर्मचारीलाई विभिन्न तालिम दिने गरेका थियौ । यो अवधिमा त्यो हुन सकेन । व्यवसाय प्रबद्र्धनका लागि यो अति नै आवश्यक छ ।
विगत ३ वर्ष यता हेर्दा २५ देखि ३० जना हाम्रा कर्मचारी तालिमका लागि विदेश जानु भएको छ । हामीले विदेशमा मात्रै नभएर नेपालमा पनि विभिन्न तालिम दिँदै आएका थियौं ।
योबेला कोरोनाका कारण हामीले अग्रसरताका साथ काम गर्नुभन्दा पनि सुरक्षित भएर काम गर भन्नुपर्ने अवस्था आएको छ । यो अहिलेको बाध्यता हो । कर्मचारीलाई सुरक्षित गराउने सबैको कर्तव्य हो । योसँगै कर्मचारीको क्षमतामा ह्रास आएको हामीले पाएका छौं । कर्मचारीको क्षमतामा आएको ह्रास भनेको ठूलो ह्रास हो ।
अहिले आएर बिजेनश बिस्तारै पुरानै गतिमा फर्कन लागेको छ । जुन राम्रो संकेत हो । लकडाउनमा नविकरण नभएका सवारी साधनहरु बीमा पोलिसी नविकरण गर्न थालेका छन् । त्यसले गर्दा बिजनेश नबढे पनि ह्रास नै आउने सम्भवना कम छ । अब व्यवसाय कति बढ्छ भन्न ेयकिन नभए पनि घटने सम्भावना न्यून प्रायः नै छ ।
नविकरणका लागि लकडाउनमा केही राहत दिएकाले प्रिमियममा केही कमी आउने भए पनि १ वर्षमा केही सुधार आउन सकेको खण्डमा सुधार आउने छ ।
लकडाउनको कारण प्रविधिको धेरै प्रयोग भएको छ । घरमा नै बसेर काम गर्ने भौतिक पूर्वाधार तयार गरिसकेका छौं । हाम्रो ८५ वटा शाखा र आउटलेटसहित ९७ वटा छन् । त्यसका कर्मचारीले अफ लोकेशनमा बसेर काम गर्न सक्ने प्रविधि हामीले विकास गरेका छौं । वैशाख २७ गतेसम्ममा हामीले पूर्णरुपमा काम घरबाट नै गर्यौ ।
घरमा बसेर काम गर्दा राज्यलाई ट्राफिक व्यवस्थाप गर्न सहज र इन्धनको खपत कम हुने रहेछ । त्यसैले विदेशमा यो अवधारणा पुरानो हो । लकडाउनपछि सबै उद्योग व्यवसायले घरमा नै बसेर काम गर्ने वातावरण बनाउन आवश्यक छ । आगामी दिनमा हामी पनि यो अवधारणाअनुसार काम गर्ने सोचमा छौं । कर्मचारीलाई हौसला मिल्ने कार्यक्रम पनि गर्ने छौं ।
लकडाउनको अवधिमा मन्त्रिपरिषदको निर्णयबाट एक तिहाई कर्मचारीले मात्रै कार्यालय सञ्चालन गर्नु भन्ने निर्णय भएपछि हामीले अफिसबाट पनि काम गर्यौ ।
चैत ११ देखि वैशाख २७ गतेसम्म लगभग ४ सय वटा दाबी भुक्तानी परेको थियो । यसमा अग्नी, सवारी दुर्घटना, व्यक्तिगत दुर्घटना थिए । त्योबेला हामीले सर्भेयर पठाउन सक्ने अवस्था थिएन । जो सेवाग्राहीले हामीलाई फोन गर्नुहुन्थ्यो उहाँहरुलाई हामीले इमेल, ह्वाटसएप, भाइबारमा फोटो खिचेर पठाउने, आवश्यक कागजात पठाउन लगाउने र त्यो सर्भेयरलाई दिने, जुन ठाँउमा घटना घटेको हो त्यहाँको स्थानीयलाई कतिको नोक्सान भएको हो त्यसको अनुमान गरेर क्लेम सेटल गरेका छौं ।
अहिलेसम्म कसैले पनि हामीले दाबी भुक्तानी पाएनौ भनेर गुनासो आएको छैन । त्यसलाई अझै प्रभावकारी रुपमा लैजान खोजिरहेका छौं ।
अबको रणनीति…
हामी आगामी अर्थिक वर्षको बजेट बनाउने क्रममा रहेका छौं । त्यो बजेटमा धेरै कुरा समेटिने छ । बजेटमा समावेश भएको रणनीति अनुसार हामी अघि बढने हो ।
मर्जर…
कोरोनाका कारण मर्जरको कुरा पनि उठ्ने गरेको छ । त्योभन्दा पनि यसअघि नै बीमा समितिले कम्पनीहरुलाई मर्जरमा जानको लागि बाटो खुला गरिसकेको छ । मर्जरमा जान चाहनेका लागि नियामकले पनि सबै ढोका खोलेको छ । अहिले रिस्कबेस क्यापिटलको कुरा आइरहेको छ । त्यसको कारण मर्जर हुनसक्छ ।
सलहको त्रास र कृषि बीमाको अवसर
सलह नेपालमा प्रवेश गरिसकेको छ । तर नेपालमा यसले धेरै असर पार्ने जस्तो देखिएको छैन । कृषि मन्त्रालयका विज्ञहरुले पनि यसमा केही भन्नु भएको छैन । नेपालमा जति कृषि कार्य हुने गरेको छ त्यसको थोरै प्रतिशत मात्रै बीमा रहेको छ ।
बीमा भएको क्षेत्र थोरै भएका कारण सलहले बीमा क्षेत्रमा धेरै असर नपार्न सक्छ । धेरै क्षेत्रमा बीमा थियो भने सहलले बीमा क्षेत्रमा पनि असर पार्न सक्ने थियो । यसले राज्यलाई धेरै नै असर पार्न सक्छ । तर बीमा क्षेत्रलाई असर धेरै नपर्ला ।
तथापि अहिले नै यस्तो होला भनेर भन्न सकिँदैन । बढी बीमा भएको क्षेत्र भनेको केरा खेतिमा हो । धान र मकैमा खासै धेरै छैन । सहलको असर केरा खेतिमा धेरै देखिएको छैन ।
अहिले सरकारले पनि कृषि बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्ने कामलाई प्राथमिकतामा राखेको छ । नत्र हामी पनि प्राविधिकको भरमा मात्रै पर्नुपर्ने बाध्यता थियो । हामी पनि दूरदराज ठाँउमा पुग्न सक्ने अवस्था थिए ।
हाम्रो अभिकर्ता भनेको उहाँहरु नै हो । अब उहाँहरुले कृषिसँगै बीमाको कुरा गर्नु भएको छ की छैन भनेर हामीले अनुगमन गर्न सक्ने अवस्था छैन । राज्यले २ वर्षयता धेरै नै जनचेतजना फैलाएको छ । नियामकले भनेर बीमा कम्पनीलाई पनि ५÷५ वटा जिल्ला छुट्याएको छ । नियामक निकायले केही दिनअघि आफ्नो क्षेत्रमा रहेका कृषकलाई जनचेतना अभिवृद्धि गर्ने, र्याली गर्ने, घुम्ती बीमा सेवा सञ्चालन गर्ने, तोकेको क्षेत्रमा यति प्रतिशत हुनैपर्ने भनेर नीति ल्याउने कुरा पनि सुनिएको छ । त्यो भयो भने यो अभिवृद्धि हुन्छ ।
कोरोनाका कारण नेपालमा कृषि बीमाको सम्भावना निकै फैलिएको छ । अहिले अरु बीमाबाट आम्दानी भएपनि त्यो बढाउने अन्य बाटाहरु केही समयको लागि रोकिने देखिएको छ । अब पोर्टफोलियो बढाउन सक्ने क्षेत्र भनेको कृषि नै हो ।
सबै बीमा कम्पनीहरु अब कृषि क्षेत्रमा पोर्टफोलियो बनाउन लाग्छन । अबको विकल्प पनि त्यही हो । जहाँबाट रेभिन्यू आउन सक्छ, जहाँ खाली ठाँउ छ, जहाँ प्रतिस्पर्धा कम छ त्यहाँ नै हो सबैजना दौडिने । ५ वर्षको तथ्याङक हेर्ने हो भने कृषि बीमामा राज्यको लगानी विस्तारै बढी रहेको छ । बीमा कम्पनीहरु पनि यतिबेला राम्रो आम्दानीको स्रोतको खोजीमा रहेका छन् । एनएलजीको कुरा गर्दा कृषि तथा पशुमा अग्रणी नै छौं ।
१ अर्ब ७० करोडको व्यापार गर्दा २२÷२५ करोडको त कृषिबाट प्रिमियम संकलन गर्ने गरेका छौं । पशु बीमा शुरु गर्ने पहिलो कम्पनी एनएलजी नै हो । हामीले प्राविधिक पनि धेरै राखेका छौ । विभिन्न संघ संस्थासँग आबद्द भएर काम गरिरहेका छौं । अब सबै बीमा कम्पनी कृषि क्षेत्रमा जाने छन् ।