कोरोना संक्रमणपछि निको भएका व्यक्तिको प्लाज्मा परीक्षण गरिने
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ ।
संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुराहरु अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ ।
परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए ।
‘अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ । हाम्रो इथिकल बोर्डले पारित गर्यो । छिट्टै शुरु गर्छौ । डिस्चार्ज भएर जानेहरुले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन् । हामी रिसर्च गर्छौ,’ उनले भने ।
परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक–फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ ।
परिषदले कोभिड—१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्यांकन सम्बन्धि अनुसन्धान समेत गरेको छ । सरकारले तोकेका कोभिड–अस्पतालका रुपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरेको हो ।