लोकसेवा पास गरेर नियुक्ति पत्र लिन नआउनेलाई मन्त्रीको फोन
काठमाडौं । जागिर त्यसमा सरकारी सबैभन्दा सामाजिक सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित हुन्छ । अझ कोरोना भाइरस(कोभिड १९)को कारण निजी क्षेत्रले रोजगारी कटौती गरेको छ भने तलब नै कम दिएको छ । यस्तो अवस्थामा सरकारी जागिर खाने मात्र सुरक्षित देखिएका छन् ।
लोकसेवामा हुने आकर्षण यसमा पर्ने आवेदनले पुष्टी गर्छ । निकै नै कठिन परिक्षा पास गरेपछि मात्र सरकारी जागिर खानको लागि योग्य भइन्छ ।
लोकसेवा पास गरेका ९ जनाले भने नियुक्ति नै नलिएको भेटिएको छ । जसमा ५ जना अधिकृत थिए भने ४ जना इन्जिनियर ।
लोकसेवा पास गरेको व्यक्तिले नियुक्तिपत्र नलिएको थाह पाएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयष त्रिपाठी पनि अचम्म परे ।
पास गर्नेलाई मन्त्री आफैले फोन गरेर सोधे ‘लोकसेवा पास गर्ने उदेश्य हुन्छ, पास भएपनि नियुक्ति पत्र किन लिनु भएन ?’ सामान्य प्रशासनमन्त्री त्रिपाठीले राज्य व्यवस्था समितिको बैठकमा भने अनुसार स्थानीय तहमा बृत्ति विकास नहुँने भएपछि पास भएका ९ जनाले लोकसेवाबाट नियुक्ति नलिने निर्णय गरेका छन् ।
आफन्त तथा अग्रजले संघको परिक्षा नै पास गर्न सक्ने हुँदा बृत्ति विकास नहुँने स्थानीय तहमा जान नभनेको हुँदा स्थानीय तहमा नगएको आफुलाई सुनाएको त्रिपाठीले सुनाए ।
‘स्थानीय तहमा जाने कर्मचारीको बृत्ति विकासमा भएको समस्या देखिएको छ, हामीले अब निजामति कर्मचारी सम्बन्धि विधेयक समस्या समाधान गर्ने गरेर बनाउनुपर्छ,’त्रिपाठीले भने ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति कर्मचारी सम्बन्धि विधेयकमा अहिले दफावार छलफल चलिरहेको छ ।