विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड डलर, १०.८ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय वित्तीय स्थित सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धि भई बैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा बैशाख मसान्तमा १० अर्ब २५ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा बैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा बैशाख मसान्तमा १ खर्ब ६० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । २०७७ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

दश महिनाको अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।


क्लिकमान्डु