कोरोनाको कारण देश गम्भीर आर्थिक संकटमा, दैनिक खर्च धान्न सरकारलाई मुस्किल



काठमाडौं । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि गरिएको लकडाउनको कारण देश गम्भीर आर्थिक संकटमा फसेको छ ।

कोभिड १९ नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन लागू गरेको छ । पछिल्लो समय लकडाउन खुकुलो बनाए पनि उद्योग व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । जसको असर सरकालाई समेत परेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई दैनिक राज्य सञ्चालन गर्ने गरेर खर्च धान्न नकसेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारलाई खर्च चलाउन मासिक ४० अर्ब चाहिने भएपनि १५ अर्ब रुपैयाँमात्र आम्दानी भएको बताए । उनले जेठ महिनाको आम्दानी र खर्च हिसाब गर्दा धान्न नसक्ने स्थिती देखिएको जानकारी प्रतिनिधिसभालाई गराए ।

‘लकडाउनको कारण सरकारको खर्च र आम्दानी असन्तुलित स्थितीमा पुगेको छ, आम्दानीभन्दा खर्च बढी भएको छ,’ अर्थमन्त्री खतिवडाले आइतबार प्रतिनिधिसभाको बैठकमा भने ।

लकडाउनको कारण उद्योग व्यवसाय बन्द भएको हुँदा राजस्व लक्ष्य अनुसार उठेको छैन । जसको कारण सरकारलाई कर्मचारीलाई तलब खुवाउन नै ओभरड्राफ्ट ऋण लिनुपर्ने अवस्था आएको छ । सरकारले अवकास प्राप्त सरकारी कर्मचारीलाई दिने पेन्सन समेत ढिलो गरेर दिन थालेको छ । बैशाख महिनाको तलब तथा पेन्सन अन्तिम सातामात्र दिइएको थियो । असार महिनामा थप सरकारलाई दवाव हुने अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सरकारी खर्च चलाउनको लागि विभिन्न निकायमा रहेका कोषहरुको रकम तान्न थालेको जानकारी अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाको बैठकमा दिए ।

सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार लकडाउन अगाडि चैत ११ गते सरकारको आम्दानी ६ खर्ब १० अर्ब रुपैयाँ थियो भने सरकारको खर्च ६ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

जेठ ३१ सम्म आइपुग्दा सरकारको आम्दानी ६ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ भने खर्च ८ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले लक्ष्य अनुसारको राजस्व लकडाउनको कारण नउठ्ने भएपछि चालु आर्थिक वर्षको लागि उठाउने भनेको १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका बनाएको थियो । जसअनुसार १ खर्ब ६५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।


क्लिकमान्डु