होटल सञ्चालकले भने- सञ्चालन गर्नै सकिएन, विशेष नीति चाहियो



काठमाडौं । होटल एसोसिएसन अफ नेपा (हान)ले कोरोना भाइरसका कारण व्यवसाय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बताएको छ । यसका लागि सरकारले विशेष नीति बनाउन माग गरेको छ ।

‘महामारी नियन्त्रणको सरकारले चालेका कदममा ऐक्यवद्धता जनाउँछौं, यो अवस्थामा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्नुपर्दछ,’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘श्रमिकहरूको उचित व्यवस्थापन, बैंकको ऋण तथा घरभाडा व्यवस्थापनका साथै विद्युत महसुल र स्थानीय सरकारको सम्पति कर लगायतको उचित व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्नलाई नेपाल सरकार तथा सरोकारवाला निकायहरूसँग हार्दिक अनुरोध गर्दछौं,’ संघकी अध्यक्ष सिर्जना राणाले भनिन् ।

संघले कोरोना भाइरसका कारण होटल व्यवसायको अवस्था सन् २००३ देखि २००५ सम्मकै हुने बताएको छ । उक्त २ वर्षको अवधिमा होटलहरुको आम्दानी ५० प्रतिशतले कम भएको थियो ।

होटल क्षेत्रमा सबैभन्दा बढी खर्च कर्मचारी व्यवस्थापन (पारिश्रमिक शीर्षक)मा खर्च हुने भएकाले खर्च धान्न नसकिने अवस्थामा पुगिएको संघको भनाइ छ ।

वर्तमान विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कूल आयमा करिव ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण भएकोले हाल सम्म अस्तित्वमा रहेका होटल उद्योगहरूले सेवा बन्द गर्नु पर्ने अवस्था आएको उल्लेख छ ।

नेपालको होटल उद्योगमा सन् २०१९ को कूल आम्दानीको करिव ४० प्रतिशत कर्मचारीको सेवा सुविधामा खर्च भएको देखिएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कूल आम्दानी केवल १० प्रतिशत भन्दा न्यून हुने अध्ययनको आधारमा होटलहरूले कुनै पनि हालतमा खर्च धान्न नसक्ने तथ्य स्पष्ट छ ।

‘होटल उद्योगले नेपालको पर्यटनको विकासमा अतुलनीय योगदान गर्दै मुलुकको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिबृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय छ । यसर्थ, अर्बौ रूपँैयाको लागानी मार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा वहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न विलम्ब नगरियोस्,’ विज्ञप्तीमा भनिएको छ ।


क्लिकमान्डु