विश्व स्वास्थ्य संगठनले चीनको संरक्षण गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, बजेट रोक्ने चेतावनी



बाल्टिमोर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनको अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था भएको आरोप लगाएका छन् ।

मंगलबार डब्लुएचओप्रति रुष्ट हुँदै ट्विट गरेका ट्रम्पले चीनको संरक्षणको लागि डब्लुएचओले विश्वलाई गलत सल्लाह दिइरहेको आरोप लगाए ।

डब्लुएचओले चीनको संरक्षणको लागि अमेरिकालगायतका देशलाई गलत सल्लाह दिएर धोका दिएको भन्दै उनले अमेरिकाले अब डब्लुएचओलाई दिने बजेटको विषयमा पुनर्विचार गर्ने चेतावनी दिए ।

‘कुनै हकमा अमेरिकाको पनि ठूलो आर्थिक सहयोगमा चलिरहेको यो संस्थाले चीन केन्द्रीत भएर काम गरिरहेको छ, अब हामी त्यसलाई पुनर्विचार गर्ने छौं,’ ट्विटमा ट्रम्पले भनेका छन् ।

अन्य अमेरिकी केही विश्वेषकहरु जस्तै राष्ट्रपति ट्रम्पले पनि डब्लुएचओलाई विश्वभर कोरोना भाइरसको महामारी फैल्याउन सहयोग गरेकोमा जिम्मेवार हुनुपर्ने बताएका फ्लोरिडाका रिपब्लिकन पार्टीका सांसद रिक स्कटले बताएका छन् ।

कोरोना भाइरसको महामारी चीनको वुहानबाट सुरु भएको थियो । सोही भाइरसको कारण अमेरिकामा करिब १२ हजार व्यक्तिको ज्यान गईसकेको छ भने ४ लाखको हाराहारीमा प्रभावित छन् ।

अमेरिकाका डेमोक्र्याटीक गभर्नरहरु, कानूनविद् तथा विश्लेषकहरुले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक कदम नचालेको आरोप लगाईरहेकै समयमा ट्रम्मले डब्लुएचओलाई आरोप लगाएका हुन् ।

गत जनवरी ३१ मा कोरोना भाइरसको संक्रमण रोक्नको लागि भन्दै ट्रम्प प्रशासनले चीनबाट आउने यात्रुहरुलाई प्रतिबन्धको घोषणा गरेको थियो । तर त्यसको केही दिनपछि फेब्रुअरी ३ मा डब्लुएचओले त्यस्तो किसिमको प्रतिबन्धहरुको आवश्यकता नरहेको प्रतिक्रिया दिएको थियो ।

‘तर भाग्यवस मैले चीनसँगको सीमा खुल्ला राख्ने डब्लुएचओको सल्लाहलाई अस्वीकार गरे र यात्रा प्रतिबन्धलाई निरन्तरता दिए,’ ट्रम्पले ट्विटमा लेखेका छन् ‘तर किन उनीहरुले त्यस्तो गलत सुझाव दिए ?’

डब्लुएचओले अहिलेपनि प्रत्येक व्यक्तिले मास्कको अनिवार्य प्रयोग गर्नु पर्छ भनेर सुझाव दिएको छैन । तर अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्रले भने गत हप्ताबाटै मास्क वा अनुहार ढाक्ने वस्तुको प्रयोग गर्न सुझाव दिएको छ । ट्रम्प प्रशासनले भने डब्लुएचओ चीन समर्थित भएको कारण यस्ता सुझावहरु नदिने गरेको आरोप लगाएको छ ।

गत हप्ता फ्लोरिडाका एक सांसद मार्को रुवियोले डब्लुएचओका महाप्रबन्धकले वेईजिङको समर्थनमा विश्व समुदायमा गलत सुचना फैल्याइरहेको भन्दै राजीनामा दिन माग गरेका थिए । त्यसलाई एरिजोनाका अर्का सांसद मार्था म्याक्सेल्लीले पनि समर्थन गरेकी छिन् ।

‘उनीहरु सफा र अर्को रुपमा आउनुपर्छ । डब्लुएचओले यस्ता व्यक्तिहरुलाई समर्थन गर्न रोक्नुपर्छ,’ म्याक्सेल्लीले भनिन् ‘हामीले यो विषयमा संबोधन गर्न केही निर्णय लिन आवश्यक छ । अहिले यो संस्थाले गैरजिम्मेवारपूर्ण काम गरिरहेको छ जसको कारण विश्वमा मानिसहरु मरिरहेका छन् ।’

उता फ्लोरिडाका सांसद स्कटले सांसदको होमल्याण्ड सेक्युरेटी समितिले डब्लुएचओ कोरोनाको विषयमा कसरी काम गरिरहेको छ भनेर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

जवअरीको अन्तिमतिर डब्लुएचओका महाप्रबन्धकले चीनका राष्ट्रपति सि जिङपिङले चीनको भाइरसको सम्पूर्ण सुचना नियन्त्रणमा लिएको आरोप लगाएका थिए ।

गत हप्ता अमेरिकाको गोप्य अनुसन्धान ब्यूरोले चीनले कोरोनाको कारण संक्रमित र मर्नेहरुको यथार्थ तथ्यांक लुकाएको प्रतिवेदन तयार पारेको भन्दै समाचारहरु बाहिरिएका थिए त्यसमा ट्रम्पले पनि समर्थन जनाएका थिए ।

डब्लुएचओ संयुक्त राष्ट्रसंगकै एक अंग हो जसको राजधानी स्वीजरल्याण्डको जेनेभामा रहेको छ । जसमा १ सय ९४ सदस्य र दुई एसोसिएट सदस्य राष्ट्र छन् । यसलाई चन्दा र सदस्य देशहरुको सहयोगमा सञ्चालन गरिदै आईएको छ ।


पुष्प दुलाल