चण्डीराजसँग २३ करोडको सम्पत्ति, तिर्नुपर्ने अर्ब बढी, असूलीको कानूनी प्रक्रिया अघि बढाउँदै बैंक



काठमाडौं । चण्डीराज ढकालको डुबेको उद्योगमा विदेशी लगानी भित्र्याउने योजना असफल भएको छ ।

झन्डै डेढ वर्षसम्म प्रयास गर्दा पनि ढकालले विदेशी लगानी भित्र्याउन नसकेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ऋण असूलीको कानूनी प्रक्रिया अघि बढाउने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले मोमेन्टो एपेरिएल्स प्रालिका लागि १६ वर्षअघि लिएको ऋण अहिलेसम्म पनि तिर्न सकेका छैनन् । मोमेन्टो एपेरिएल्स ८ वर्षअघि नै बन्द भइसकेको छ । उनले धितोमा राखेको उद्योगका मेसिनहरु कवाडीमा जाने भइसकेका छन् ।

ऋण नतिरेपछि ढकाललाई बैंकले कालोसूचीमा राखिसकेको छ । बैंकले पटक-पटक ऋण तिर्न ताकेता गर्दा पनि उनले ऋण तिरेका छैनन् ।

डेढ वर्षअघि बैंकले ऋण नतिरे कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि ढकालले दुवइको प्रफेक्ट इन्ड्रष्टिज ग्रुपलाई साझेदार बनाएर भित्र्याउने र बैंकको ऋण पनि तिर्ने प्रस्ताव पेश गरेका थिए ।

‘हामीले चण्डीराजजीलाई गत असार मसान्तभित्रै ऋण चुक्ता गरिसक्न अन्तिम अल्टिमेटम दिएका थियौं तर उहाँले विदेशी साझेदार भित्र्याएर फेरि उद्योग चलाउने भन्दै बैंकमा प्रस्ताव दिएपछि एक पटकका लागि अवसर दिएका हौं,’ वाणिज्य बैंकका सीइओ किरण श्रेष्ठले क्लिकमाण्डूसँग भने ‘चण्डीजीले बैंकको १० करोड तिरेर उद्योगमा विदेशी लगानी ल्याउने प्रस्ताव गर्नुभएको थियो, डुबेको व्यक्तिले उद्योग चलाउनको लागि लगानी ल्याउछु भन्दा सहयोग किन नगर्ने भनेर सहयोग गर्यौं ।’

तर, ढकालले प्रतिवद्धता अनुसार लगानी भित्र्याउन नसकेपछि बैंकले असूलीको कानूनी प्रक्रिया अघि बढाउने भएको हो ।

हिँजोका दिनमा बैंकले चण्डीलाई जुन प्रक्रियाबाट माथि उठाउन खोजेका थियो, अब त्यो प्रक्रियाबाट जाँदा अब समयले नपुग्ने र आफूलाई सञ्चालक समितिबाट कानूनी प्रक्रिया शुरु गर्न तीब्र दबाब भएको श्रेष्ठले बताए ।

‘हिँजोको सञ्चालक समितिलाई मैले ब्रिफिङ गरेर कन्भिन्स गरेको थिएँ, अहिले सञ्चालक समितिमा नयाँ व्यक्तिहरु आउनुभएको छ, म उहाँहरुलाई कन्भिन्स गर्नसक्ने अवस्थामा छैन,’ उनले भने, ‘तपाईंले जसरी चण्डीको केश सल्ट्याउँछु भन्नुभएको थियो, अहिलेसम्म सल्टिएको छैन, अब यसरी अल्झिएर हुँदैन, नियमअनुसार अघि बढ्नुपर्छ भनेर सञ्चालक समितिले मलाई भनिरहेको छ ।’

यद्यपि चण्डीले अहिले पनि मिलाउँछु भनेर भन्ने गरेको उनले सुनाए ।

‘अहिले पनि चण्डीजी र मेरो कुरा भइरहेको छ म मिलाउँछु भनिरहनुभएको छ, म पनि बिजी छु, थोमस पनि बिजी भएकाले आउन नपाएका हौं भनिरहनु भएको छ,’ श्रेष्ठले भने।

सञ्चालक समितिले कहिलेसम्म भनेर प्रश्न गरिरहेको र आफूसँग त्यसको जवाफ नभएको उनले सुनाए ।

‘पहिले पहिले त म एकदमै ढिलो भयो भने ०७६ पुस मसान्तसम्ममा सल्ट्याइसक्छु भन्ने जवाफ दिन्थेँ, अब मसँग जवाफ छैन,’ श्रेष्ठले भने, ‘ऋण असूली न्यायधीकरणमा मुद्दा दायर गर्ने तयारीमा जुटेका छौं ।’

यो असार मसान्तसम्ममा जसरी भएपनि चण्डीजीको ऋण असूलीको निष्कर्शमा पुग्नैपर्ने बाध्यता आफूसँग भएको श्रेष्ठले सुनाए ।

‘हामीले दिएको समयमा उहाँले मिलाउन सक्नुभएन, अब हामी थप समय दिनसक्ने अवस्थामा छैनौं,’ उनले भने ।

चण्डीले विदेशी साझेदार भित्र्याउने प्रस्ताव ल्याएपछि ऋणको पुनसंरचना गर्ने, पुनसंरचना गरिसकेपछि धितोको मूल्यांकन गर्ने र त्यसका आधारमा आयोजना अघि बढाउने भन्ने कुरा भएको थियो ।

‘हामीले धितोको मूल्यांकन पनि गरिसकेका थियौं, मूल्यांकनका क्रममा चण्डीराजसँग २३ करोड रुपैयाँ बराबरको धितो पाइएको छ,’ श्रेष्ठले भने ।

वाणिज्य बैंकको २९ करोड सावाँ असूल गर्न बाँकी छ । त्यसको ब्याज र हर्जना जोड्दा अर्ब बढी छ । तर, बैंकले सावाँ बराबर ब्याज तिर्नुपर्छ भनेको थियो । त्यो भनेको ५८ करोड रुपैयाँ हो ।

तर, चण्डीले ५० करोड रुपैयाँ तिर्छु भनेका थिए, रकमको फाइनल नेगोसिएशन हुन बाँकी थियो । लगभग टुंगिने स्थितिमा पनि थियो ।

एउटा मिलन बिन्दु खोजिँदै थियो ।

तर, त्यसका लागि चण्डीजीले बैंकलाई टोकन मनिका रुपमा १० करोड रुपैयाँ तिर्नुपर्ने, सम्पत्तिको स्वघोषणा गर्नुपर्ने र रुग्ण उद्योगमा चलिरहेको प्रक्रियाको बारेमा एउटा चिठ्ठी ल्याउन बाँकी थियो ।

‘सम्पत्ति तथा दायित्वको स्वघोषणा चण्डीजीले गरिदिनुभयो, बैंकले रोक्का गरेका घरजग्गाबाहेक आफूसँग अरु सम्पत्ति नभएको घोषणा गर्नुभयो,’ उनले भने ‘तर अरु प्रक्रिया जहाँको त्यहीँ रहे ।’

बैंकले ऋण तिर्नका लागि चण्डीलाई पटक पटक ताकेता नगरेको पनि होइन । तर, उनी मन्त्री, प्रधानमन्त्री, शक्तिशाली नेता, गभर्नर, सचिव, प्रहरी प्रशासन लगायतलाई भनसुन गर्न लगाएर अहिलेसम्म ऋण नतिरी बसे ।

अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालको ऋणप्रति चासो देखाउँदै वाणिज्य बैंकलाई असूल गर्न भनिसकेका छन् । त्यसपछि बैंकले ढकाललाई ऋण नतिरे मुद्दा दायर गर्ने चेतावनी दिएको थियो ।

ढकाल कांग्रेस निकट हुन् । अहिले नेकपाको दुइतिहाइको सरकार भएकाले आफूलाई बैंकिङ कसूरमा जेल हाल्नसक्ने संभावना देखेपछि उनी ऋण तिर्न तयार देखिएका हुन् ।

उद्योग वाणिज्य महासंघका बहालवाला अध्यक्ष भएका कारण त्यो बेला वाणिज्य बैंकले कानूनी प्रक्रिया अघि बढाउन सकेन ।

ऋण तिर्न दवाव आएपछि उन्मुक्ति गराउन चण्डीराज ढकाल महासंघलाई प्रयोग गर्दै

आफ्नो कार्यकाल सकिएपछि पनि चण्डीराज सँधैजसो महासंघको छायाँ अध्यक्ष बनिरहे । जसकारण बैंकले चण्डीराजको कर्जा असूलीको प्रक्रिया अघि बढायो कि उद्योग वाणिज्य महासंघको टोली नै प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर लगायतकहाँ पुगेर दबाब दिन्थे । दिइरहेका छन् ।

महासंघको संस्थागत दबाब सामू सरकारको केही चलेन । र, ऋण असूली प्रक्रिया अघि बढेन ।

महासंघको शक्तिका कारण बैंकले ऋण असूलीको कानूनी प्रक्रिया अघि नबढाएपछि ढकालको मनोवल बढ्यो । र, उनी सँधै महासंघको शक्तिमा बसिरहन खोजे । खोजिरहेका छन् ।

चण्डीले चाहेका भए ८ वर्षअघि नै कालोसूचीमुक्त हुन्थे

८ वर्षअघि चण्डीकै समर्थनमा सुरज बैद्य महासंघको अध्यक्षमा चुनिए । त्यो बेला पनि बैंकले चण्डीलाई ऋण तिर्न तीब्र दबाब दिइरहेको थियो ।

सुरज बैद्य बैंकसँग नेगोसेसन गरेर चण्डीलाई ऋणमुक्त गराउन चाहन्थे । केही व्यवसायीहरु मिलेर ८/१० करोड रुपैयाँ उठाएर भएपनि चण्डीलाई ऋणमुक्त गराउन लागि परे उनी चण्डीराज बैंकसँग नेगोसेसन गर्न गए । त्यो बेला उनले तिर्नुपर्ने करिब अर्ब पुगिसकेको थियो ।

लामो छलफ पछि ५५ करोड रुपैयाँ तिर्ने भए बैंकले लिलामी प्रक्रिया अघि नबढाउने नेगोसेसन भयो । तर, उनले आफूसँग १०/१५ करोड रुपैयाँ मात्रै भएको भन्दै त्यत्रो पैसा तिर्न नसक्ने बताए ।

त्यसपछि महासंघको नेतृत्वले बैंक र अर्थ मन्त्रालयसँग चण्डीको ऋण असूलीको विषयमा छलफल गर्यो । महासंघ नेतृत्वले दबाब दिएपछि बैंकले ५० करोड तिरे पुग्छ भन्यो ।

चण्डीले केही दिनको समय मागे ।

तर, हप्तादिन पछि आएर ५० करोड पनि बढी भयो ४० करोड पनि तिर्न सक्दिन भन्ने जवाफ दिए ।

त्यसपछि चण्डीलाई ऋणमुक्त बनाउन लागेका सुरज बैद्य, भाष्करराज कर्णिकारहरु जिल्ल परे । र, उनीहरुले यो विषयमा लबिङ गर्न छाडिदिए ।

जब सुरज बैद्यले आफ्नो ऋण नतिर्ने विषयमा संस्थागत लबिङ गर्न छाडे । तब सुरजसँग चण्डी रिसले चुर भयो ।

सुरज र चण्डीको झगडा सतहसम्मै छताछुल्ल भयो । कारण थियो त्यही ऋण र विशिष्ट सदस्य नदिएको।

ऋण नतिर्नका लागि बन्द भएको आफ्नो उद्योगलाई रुग्ण उद्योगमा राख्न सरकारी अधिकारीहरुलाई दबाब दिए । महासंघ नेतृत्वले पनि तीब्र लबिङ गर्यो ।

चण्डीजस्तै व्यापारीहरुले ऋण नतिरेपछि पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक कुनैबेला धरासायी भएको थियो । सरकारले विश्व बैंकबाट ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गर्नु परेको थियो ।

अहिले फेरि चण्डीलाई ऋण तिर्नका लागि तीब्र दबाब आएको छ ।

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले समेत ऋण नतिरे कानूनी प्रक्रियाबाट असूल गर्ने चेतावनी दिइसकेका छन् ।
प्रधानमन्त्री र अर्थमन्त्रीले अब बचाउन नसक्ने बताएपछि चण्डीले बैंकसँग नेगोसेसन शुरु गरेका हुन् । नेगोसेसनमा उद्योग वाणिज्य महासंघका अहिलेका केही पदाधिकारी पनि लागेका छन् ।

सँधै महासंघको शक्तिमा, बैंक विरुद्ध आन्दोलन

२०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गर्यो । त्यो बेला महासंघको अध्यक्ष थिए चण्डिराज । देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे ।

कारण थियो ऋण नतिर्ने ठूला ऋणीलाई राष्ट्र बैंकले गर्न थालेको कारवाही । किनभने महासंघ अध्यक्ष ढकाल आफैं बैंकको ऋण नतिर्ने व्यवसायीमा थिए ।

२०६४ सालमा महासंघको नयाँ नेतृत्व चयन हुनुपर्ने थियो ।

महासंघको विगतको परम्परा अनुसार अध्यक्ष बन्ने पालो दिवाकर गोल्छाको थियो । त्यो बेला विधान अनुसार प्रथम उपाध्यक्ष अध्यक्ष बन्ने चलन थियो । ढकालले महासंघको अध्यक्षमा पुनः दोहरिन खोजे ।

अध्यक्षको प्रतिस्पर्धाबाट दिवाकर गोल्छा बाहिरिए भने द्धितिय उपाध्यक्ष रहेका कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा अध्यक्षमा जोशीले ढकालाई हराइदिए ।

ढकाल अध्यक्षमा दोहरिन चाहनुको कारण थियो बैंकको ऋण नतिर्नु । त्यो बेला ढकाललाई राजस्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । त्यो अनुसन्धानलाई निस्तेज पार्न ढकाल फेरि महासंघको अध्यक्ष बन्न चाहन्थे ।

जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको शाख गिराइरहेको छ ।

२०७५ सालमा पुनः उद्योग वाणिज्य महासंघ र बैंकरबीचको विवाद भयो । यसको सुरुवात बिराटनगरबाट भएपनि यसमा पर्दा पछाडिका खेलाडी हुन् चण्डिराज ।

मोरङ व्यापार संघ र उद्योग संघले बैंकले कर्जाको ब्याजदर नबढाएको भन्दै गरेको आन्दोलन सडक हुँदै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्यो । व्यवसायीहरुले खुल्ला बजार अर्थतन्त्र विपरित सरकारले नै निक्षेप र कर्जाको ब्याजदर तोक्नुपर्ने माग राखे ।

महासंघमा यो पटक ब्याजदर आन्दोलनको पछाडि महासंघको राजनीतिले थियो । २०६४ सालमा अध्यक्षमा दोहरिन खोज्दा असफल भएका चण्डीराजलाई त्यसको असर कस्तो सँग पर्यो राम्रोसँग थाह छ । त्यसैले चण्डी सँधै महासंघको नेतृत्व आफ्नो तरिकाले चलाउन चाहन्छन् ।

२०६४ सालमा चुनाव हारेपछि व्यवसायिक रुपमा चण्डीका दुःखका दिन सुरु समेत भए । बैंकले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा कालो सूचिमा राख्यो । धितो राखेको घर लिलाम भयो । २०६४ सालको निर्वाचनमा आफु हारे पनि पदाधिकारीमा चण्डीकै टिमले जितेको थियो ।

महासंघको संरचनामा भएको भोट भारको आधारमा जिल्ला नगरसँग ५० प्रतिशत मतभार छ । यो नै चण्डीको बार्गेनिङ गर्ने थलो हो ।

२०६४ सालमा चुनाव हारे पनि महासंघको राजनीतिमा चण्डी हाबी छन् । चण्डीले त्यसपछि जसलाई समर्थन गरेका छन् । उसले चुनाव जितेको रेकर्ड छ । २०६७ सालको निर्वाचनमा चण्डीले सुरज वैद्यले समर्थन गरे । जिताउन हिँडे । तत्कालिन अध्यक्ष कुशकुमार जोशीले समर्थन गरेका आजाद श्रेष्ठले निर्वाचन हारे ।

त्यसपछि चण्डीले प्रदिपजंग पाण्डेलाई समर्थन गरे । तत्कालिन अध्यक्ष वैद्यले समर्थन गरेका भाष्करराज राजकर्णिकारले चुनाव हारे । पाण्डेले चुनाव जितेपछि उनको भष्ट्रचारको मुद्दा उठ्यो । एउटा कर्पोरेट गेमको शिकार भएका पाण्डेले एकवर्ष मात्र अध्यक्ष बन्न पाए ।

त्यसपछि तत्कालिन बरिष्ट उपाध्यक्ष पशुपति मुरारका महासंघको अध्यक्ष बने भने बरिष्ठ उपाध्यक्ष भवानी राणा ।

यसबीचमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने गरेर महासंघको विधान संसोधन भयो । २०७३ सालमा भएको महासंघको अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भयो । चण्डीको समर्थन गोल्छालाई थियो ।

त्यसपछि महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका प्रमोद प्रधान स्थानीय चुनाव लड्न गएपछि उपाध्यक्ष पद खाली भयो । चण्डीले त्यसमा प्रधानलाई समर्थन गरेर ल्याए । त्यसपछि महासंघमा पुनः विधान संसोधनको कुरा उठ्यो ।

विशेष साधारणसभाबाट विधान संसोधन समितिका संयोजक नै चण्डी बनाइए । चण्डीले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान हटाउन खोजे, तर असफल भएनन् ।

आगामी चैतमा हुने महासंघको अधिवेशनबाट आफूले भनेको मान्छेलाई चुनाव जिताउन पाइयो भने आफू छायाँ हुने र यस्तै बार्गेनिङ गर्न पाइने सपना सपना देखेर चण्डीराज महासंघको राजनीतिभित्र सक्रिय छन् । पूर्वअध्यक्षहरु भने महासंघमा चण्डी प्रवृत्ति नामेट गर्नुपर्ने लबिङमा छन् ।


पुष्प दुलाल