गगन थापाले प्रधानमन्त्रीलाई भने- पुस्तकमा लगाएको करले जन्मोत्सव मनाउन पनि पुग्दैन्



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमा कर लगाउनु लोकतन्त्रको विरुद्ध भएको भन्दै यो निर्णय तुरुन्तै खारेज गर्नुपर्ने माग गरेका छन् ।

बुधबार किताब पाटी समूहले आयोजना गरेको विरोध सभामा माइतिघर मण्डलाबाट बोल्दै थापाले पुस्तकमा लगाएको करले जन्मोत्सव मनाउन पनि नपुग्ने बताए ।

सरकारले पुस्तकमा लगाएको करको विरोधमा जम्मा भएका तीन समयभन्दा बढी युवाहरु सामू बोल्दै थापाले सरकारले सोचेका कुनै पनि लक्ष्य यसबाट पूरा नभएको दाबी समेत गरे ।

‘हिजोका दिनमा प्रधानमन्त्री स्वयमले मार्क्सका पुस्तक पढ्न नपाउनु भएको भए, लेनिनका दस्तावेज पढ्न नपाउनु भएको भए प्रधानमन्त्री बन्नु हुन्थेन, माओका दस्तावेज पढ्न नपाउनु भएको भए, हुनेवाला प्रधानमन्त्री पनि प्रधानमन्त्री हुनुहुनन्थ्यो,’ उनले भने ।

‘पुस्तकमाथि कर लगाउँदै गर्दा सरकारको उद्देश्य थियो यसले राजस्व बढ्छ, तर गत ६ महिनाको तुलनामा करिब ३४ प्रतिशतले पुस्तकको आयात घट्यो, वर्षभरीको विश्लेषण गर्दा करिब २ अर्ब रुपैयाँको पुस्तकबाट उठ्ने १० प्रतिशत करबाट २० करोड रुपैयाँ राजस्व उठ्छ । त्यो भनेको मुस्किलले एउटा जन्मोत्सव मनाउन पनि पुग्दैन,’ थापाले भने ।

सरकारको दोस्रो उद्देश्य घरभित्रको मुद्रणलाई कुनै सहुलियत, सुरक्षा प्राप्त हुन्छ भन्ने थियो तर त्यो पनि नभएको उनको भनाइ छ ।

‘न राजस्व बढ्यो, न मुद्राण उद्योगलाई नै फाइदा भयो त्यसैले यो निर्णय खारेज वा फिर्ता गर्नुपर्छ,’ उनले भने ।

आज कुनै मुद्रण उद्योगलाई यसले फाइदा गरेन, मुद्रण उद्योगका समस्या बेग्लै थिए, बेग्लै कुनै मुद्रण उद्योगलाई यसले फाइदा गरेन, मुद्रण उद्योगका समस्या बेग्लै थिए, बेग्लै छन् ।

‘प्लेटमा, मसिनमा, कागजमा सबैतिर कर छ । प्रिन्टिङका लागि चाहिने अन्य मसिनमा करिब ३० प्रतिशत कर लाग्छ, त्यसैले यहाँ आयातित पुस्तकमा कर लगाएर मुलुकको मुद्रण उद्योगले जुन समस्या भोगिरहेको छ, त्यो समस्याबाट उद्योगले मुक्ती पाउँदैन,’ उनले भने ।

उनले अध्यागमनमा सरकारले कति बोलत रक्सी ल्याउँछ भनेर हेरे जस्तै अब विदेशबाट नेपालीले कति पुस्तक ल्याउने हेर्न सुझाव दिए, साथै वर्षमा कति वटा पुस्तक पढ्न पाउने हो कोटा तोक्न समेत सुझाव दिए ।

‘प्रधानमन्त्रीले भन्नु भयो, सांसदहरु संसदमा बोल्दैनन, बाहिर गएर हल्ला गर्छन । त्यसैले यो मन्डलामा उभिएर बोल्दै गर्दा यो प्रष्ट पार्न चाहन्छु यो निर्णय तुरुन्तै सच्याउनुहोस्, सच्चाउनु भनेको कमजोर हुनु होइन,’ उनले भने ।

‘प्रधानमन्त्री आजसबैभन्दा बढी प्रश्न गर्नेसँग रिसाउनु भएको छ । प्रश्न पढ्नेले गर्छ, पढ्न नदिँदा प्रश्न हुँदैनन्, र प्रश्न नै हुँदैन,’ उनले भने ।


क्लिकमान्डु