निर्यातमा उच्च वृद्धिका कारण व्यापार घाटा ५.३२ प्रतिशतले घट्यो



काठमाडौं । पछिल्लो केही महिनायता नेपालको अन्तराष्ट्रिय व्यापारमा सुधार आएँदै गएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म नेपालको व्यापार सुधारतर्फ गइरहेको छ । भन्सार विभाग तथ्यांक अनुसार गत साउन महिनादेखि माघ समान्तसम्म अन्य मुलकबाट गरिने वस्तु तथा सेवाको आयात ३.५६ प्रतिशतले घटेको छ ।

आयातको तुलनामा निर्यात बढ्न नसकेको कारण खर्बौको अन्तराष्ट्रिय व्यापार खेप्दै आएको नेपालमा केही सुधारको संकेत छ । सो अवधिमा आयातको ह्रासदर सामान्य भएपनि निर्यात २२.४१ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा नेपालले ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । गत बर्षको भन्दा नेपालबाट ११ अर्ब ८९ करोड २४ लाख रुपैयाँ बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै, गत आवको सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयत भएकोमा चालु आवको सोही अवधिमा यस्तो आयात २९ अर्ब ६६ करोड रुपैयाँले घटेर ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।

आयातसँगै नेपालको वैदेशिक व्यापार घाटा पनि ५.३२ प्रतिशतले घटेको छ । गत आवको ७ महिनामा ७ खर्ब ८० अर्ब १८ करोड ९६ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा यस्तो घाटा ४१ अर्ब ५५ करोड ८० लाख रुपैयाँले घटेर ७ खर्ब ३८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु