मेलम्ची र तामाकोशी बनाउन नसक्दा ओली सरकारले गुमायो ६८ अर्ब आम्दानी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एउटा सुवर्ण अवसर गुमाएको छ ।
सरकार गठन भएको यही फागुन ३ गते २ वर्ष पूरा हुँदैछ । सरकार गठन हुने बेलामा देशमा चमत्कार नै हुने हल्ला चलाइएको थियो । दुई तिहाई जनमत प्राप्त भएको सरकारसँग जनताको ठूलो अपेक्षा समेत थियो ।
सरकारले मेलम्ची र माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न भएपछि कुल ग्राहस्थ उत्पादनमा २ प्रतिशतको थप योगदान हुने घोषणा गरेको थियो । हाल नेपालको कुल ग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ छ । त्यस आधारमा ती आयोजनाले थप गर्ने २ प्रतिशतको योगदान भनेको ६८ अर्ब रुपैयाँ बराबर हो ।
तर सरकार आफैले गर्न सक्ने काम नगर्दा सरकार सुवर्ण अवसरबाट चुकेको छ । ती आयोजना मात्रै सकिएका भएपनि सरकारको काम गर्ने गति छ, जनताको पक्षमा काम भइरहेको छ । आर्थिक रुपमा योगदान भइरहेको छ भन्ने आम जनतामा तथ्य स्थापित हुने थियो ।
त्यसो त अर्थमन्त्री डा युवराज खतिवडाले माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना मात्रै सकिए पनि कूल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत थप योगदान हुने बताएका थिए ।
उनले मात्रै होइन, ऊर्जा मन्त्रालयका अधिकारी समेत सोही कुरामा ढुक्क थिए । सरकारले जोड बल मात्रै लगाएको भएपनि ती आयोजना सकिने थिए ।
तर आज २ वर्षपछि आएर हेर्दा समेत ती आयोजना कहिले सम्पन्न हुन्छन् र तिनीहरुको लागत कति बढ्ला भन्ने अनुमान लगाउन गाह्रो छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना भारतीय ठेकेदार कम्पनीको चक्रव्यूहमा फसेको छ ।
भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोका कारण माथिल्लो तामाकोशी कहिले सकिन्छ कुने ठेगान छैन ।
सरकारले चाहेको भए ती आयोजना गत आर्थिक वर्षमा नै सकिने अवस्थामा पुर्याउन सक्थ्यो । मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई विभिन्न हर्कत गरेर भगाइयो ।
त्यसमा हाल नेपाल ट्रष्ट कार्यालयको सचिव रहेको गजेन्द्र ठाकुर र खानेपानी मन्त्री बिना मगरको स्वार्थका कारण सिएमसी भाग्न बाध्य भयो । जसका कारण आयोजनामा झण्डै ८ महिना कुनै पनि काम हुन सकेन ।
राजधानीबासीलाई अघिल्लो दशैंमा नै मेलम्चीको पानी खुवाउने भन्दै गरिएको हल्ला समेत ठेकेदारको काम गर्ने शैलीका कारण छेस्कोले घोचेको बेलुन जस्तै भयो ।
सरकारले चाहँदा समयमै सकाउने अर्को आयोजना थियो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । यो नेपाली लगानी निर्माण भइरहेको देशकै ठूलो र राष्ट्रिय गौरवको आयोजना थियो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र नेपाल टेलिकम यसका संस्थागत लगानीकर्ता हो भने विद्युत् प्राधिकरण आयोजनाको प्रमुख लगानीकर्ता हो ।
निर्माण गर्ने कम्पनी प्राधिकरणको स्वामित्वको सहायक कम्पनी हो । कूल ४५६ मेगावाट विद्युत उत्पादन क्षमता भएको आयोजनालाई पिक आवरमा करिब ४ घण्टा पूर्णक्षमतामा चलाउन सक्ने गरी गरिएको डिजाइन ।
सर्वसाधारणलाई सेयर समेत बिक्री समेत गरिसकिएको थियो । कर्मचारी सञ्चय कोषका रकम जम्मा गर्ने कर्मचारीले समेत सेयर खरिद गरिसकेका छन् ।
सरकारी निकायका उच्च अधिकारी आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा थप हुँदा कूल ग्राहस्थ उत्पादनमा थप १ प्रतिशतको योगदान हुने बताउँछन् । तर काम भने अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन ।
कार्यसूची भने आगामी चैतमा सम्पन्न गर्ने गरी बनाइएको थियो । तर कार्यसूचीमा आयोजना सम्पन्न हुने कुनै संकेत छैन । कारण भारतीय निर्माण व्यवसायी टेक्सम्याकोका कारण आयोजनाको समय मात्रै बढेको छैन, लागत समेत बढीरहेको छ ।
स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने विवादको बीचबाट शुरु भएको आयोजनाको कूल भौतिक प्रगति ९९.३ प्रतिशत पुगेको छ । आयोजनाका अधिकारी भन्छन अब मात्रै ०.७ प्रतिशत काम मात्रै बाँकी छ ।
नेपाली समाजमा एउटा लोकोत्ति प्रचलित छ, त्यो हो हात्ति छिर्यो पुच्छर अड्कियो यस्तै भएको छ, माथिल्लो तामाकोशीमा । आयोजनाको काम गरिरहेको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको काममा जिम्मेवार देखिएको छैन ।
सो कम्पनीको प्रधान कार्यालय कोलकात्ता पुगेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कामको गति दिन आग्रह गरेका थिए । उनले काममा ढिलाइ भए त्यसको जिम्मेवार निर्माण व्यवसायी हुने भन्दै कामको गति बढाउन तथा कामदार थप गर्न समेत टेक्सम्याकोलाई आग्रह गरेका थिए ।
भनुञ्जेल केही दिन राम्रो काम गर्ने, नभए, कुनै वास्ता नगर्ने, सरकारी काम कहिले जाला घाम भन्ने तरिकाले टेक्सम्याकोले काम गरिरहेको आयोजनाका अधिकारी बताउँछन् । उनीहरु ठेकेदार बिच्क्याउने पक्षमा छैनन् । कारण, मेलम्चीमा ठेकेदार बिच्किँदा आयोजना नै समस्यामा पर्यो ।
मुख मुखमा आएको आयोजनामा कुनै समस्या नहोस् भन्नेमा आयोजनाका कर्मचारी सकेसम्म फकाएरै भएपनि काम लगाउने पक्षमा छन् । तर, निर्माण व्यवसायीको काम हेर्दा आगामी असारभित्र आयोजना सकिएला त भन्ने प्रश्न खडा भएको छ ।
आयोजनाको सुरुङ परिक्षणको काम भइसकेको छ । बाँध स्थल निर्माण सकिएको छ । प्रसारण लाइनको काम पनि सकिने चरणमा छ । एकाध टावरमा तार कस्न तथा सवस्टेशनमा केही काम मात्रै बाँकी छ । सवस्टेशनमा ठूला क्षमताका ट्रान्सफर्मर जडान भइरहेको छ ।
ती कार्य केही समयभित्रै सकिनेमा आयोजना ढुक्क छ । तर प्रमुख काम भनेकै ठाडो सुरुङमा पाइप जडान गर्ने हो । सोही काममा ठेकेदारले चित्त बुझ्दो काम गरेको छैन ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युतगृहभित्र टर्बाइनसहितका उपकरण जडानको काम सकिएको छ । रमाइलो त के छ भने सुरुङमा पाइप जडान हुन नसकेर समस्या पैदा भएको छ । तर विद्युत् उत्पादन गर्ने टवाइन , जेरेटरलगायतका प्रणालीको परिक्षण गरकै १ वर्ष बढी भइसकेको छ ।
यस्तै सुरुङ निर्माण सम्पन्न भएको पनि १ वर्षभन्दा बढी भइसक्यो । आयोजना चलेको मात्रै थियो भने यो अवधिमा आयोजनाले ११ अर्ब जति कमाइ गरिसकेको हुने थियो । तर त्यत्रो कमाइ गर्ने आयोजनाको काम आजको दिनमा हेर्दा समेत कहिले पूरा होला भनेर आशंका गर्नुपर्ने अवस्था रहेकोछ ।
आयोजना सकिन्छ भनेर सरकारले नै घोषणा गरेको समेत २ वर्ष जति भयो । तर पटक–पटक म्याद थप्दै जाँदा लागत बढेर ७० अर्बको हाराहारीमा पुग्दा आयोजनाले २ वर्षको कमाइ मात्रै २० अर्ब जति नोक्सान व्योहोरिसकेको छ ।
ऋणको दैनिक ब्याज, प्रशासनिक खर्च, डलरमा गर्नुपर्ने भुक्तानीका कारण लागत बढेर ३५ अर्बबाट झण्डै ७० अर्ब रुपैयाँ पुग्न लागेको हो ।
आयोजनाको विद्युत् गृहमा जडान गरिएका उपकरण कहिले पानी आउला र चल्न पाउला भनेर तम्तयारी हालतमा छन् । विद्युत् उत्पादन गर्ने मेशिन विद्युत् उत्पादन गर्न तयारी अवस्थामा छ ।
आयोजनाका कर्मचारी हरेक दिन जसो तेल लगाएर उपकरणलाई तन्दुरुस्त बनाउन लाग्नुपरेको छ । उपकरणका खिया नलागोस भनेर आयोजनाका कर्मचारीलाई चिन्ता मात्रै थपिएको छ । तर कामको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी टेलम्याको कछुवा गतिमा काम गरिरहेको छ ।
एक सातामा एउटा पाइप समेत जडान गर्न नसक्ने दुःखद् अवस्था आयोजनामा देखिएको छ । आयोजनाले विद्युत् उत्पादन थालेको भए दैनिक नै २ करोड ५० लाखका दरले कमाउने थियो ।
प्रतिफलको मात्रा बढ्दै जाँदा सेयर बजारमा समेत आयोजनाको सेयर मूल्य बढ्दै जाने थियो । तर प्रतिफल पर्खेर बसेका सेयरधनी र लगानीकर्ता भारतीय कम्पनीका कारण पुरपुरोमा हात लगाएर बस्नुपर्ने बाध्यतामा फसेका छन् ।
तामाकोशी नदीबाट फर्काइएको पानी हाल्न तयार पारिएको ८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सोही सुरुङभित्र बेगले आउने पानी हाल्न २ वटा ठाडो सुरुङमा पाइप जडान गर्नुपर्नेछ । तीमध्ये ३७३ मिटर लामो तल्लो र ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङ छ ।
उत्पादित विद्युत ४७ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन न्यू खिम्ती सवस्टेशनमा पुर्याइन्छ । पछिल्लो २ वर्ष अर्थात् वाम सरकार गठन भएको यो अवधिमा के काम भयो त भनेर खोज्ने हो भने आयोजना २ वटा ठाडो सुरुङमा पाइप राख्ने काममा नै अड्किएको छ । जसका कारण ४५६ मेगावाटको प्यास नराम्ररी खण्डित बनिरहेको छ ।
४ वर्ष पहिलेको गोरखा भूकम्प, भारतको नाकाबन्दीका कारण पनि आयोजना प्रभावित भयो । ती प्रकोपको शिकार नबनेको भए आयोजना २०७३ सालमा नै सकिने थियो ।
आज ३ वर्षमा मात्रै आयोजनाले ३० अर्ब रुपैयाँ कमाई गरिसकेको हुने थियो । अर्थात हालको लागतको झण्डै ५० प्रतिशत रकम त आयोजनाले उठाइसकेको हुने थियो । तर ती सबै अपेक्षा तामाकोशीको पानीमा बगेर सप्तकोशीमा पुगिसकेको छ ।
अझै पनि भारतीय ठेकेदारले समयमा काम नगरिदिने हो भने तामाकोशीमा अझै धेरै पानी बग्नेछ, आयोजना सफलताको नजिक भन्दै सयौं समाचार बन्नेछन् । सिंहदरबार पुनः भन्नेछ, आयोजनामा काम भइरहेको छ, अब छिट्टै सकिनेछ ।
विसं २०६७ सालदेखि निर्माण शुरु भएको आयोजना शुरुमा २०७२ सालमा नै सम्पन्न गर्ने लक्ष्य थियो । सुरुङको डिजाइनमा भएको परिवर्तनका कारण आयोजना शुरुमै ६ महिना ढिला भइसकेको थियो ।
भूकम्प गयो, भारतले नाकाबन्दी लगायो, ठेकेदारले समयमा काम गर्न सकेनन्, जसका कारण आयोजना आज यो अवस्थामा आइपुगेको छ । सरकारले २०६८ सालमा महत्वपूर्ण आयोजना राष्ट्रिय गौरवमा समावेश गरिएको थियो ।
अघिल्लो चैतमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनासँग जोडिएको प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायी, अष्ट्रेलियन ठेकेदार कम्पनी एन्ड्रिज तथा भारतीय टेक्सम्याकोलाई राखेर समस्या समाधानका लागि एकमुष्ठ निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार टेक्सम्याकोले गर्ने ठाडो सुरुङको काममा समेत बाँडफाँड गरियो । दुई वटा ठाडो सुरुङ निर्माण गर्ने जिम्मा लिएको टेक्सम्याकोलाई एउटा मात्रै सायमा सक्ने गरी कार्यतालिका बनाइयो ।
कारण, आयोजनामा गति बढोस र तोकिएको समयमा नै पूरा होस् भन्ने अपेक्षा थियो, सरकारको । तर अष्ट्रलियन ठेकेदार कम्पनी इन्ड्रिजले धमाधम काम गरिरहेको छ ।
उसको काम गर्ने गति र शैली पनि राम्रै छ । तर टेक्सम्याको भने काम्को गति बढाउनै तयार छैन । काम भइरहेको छ, हुँदैछ, समयमै सकिन्छ, यस्ता यस्तै भनाइ राखेर उसले आयोजना ढिलाइ गरिरहेको छ, आयोजनाका एक उच्च अधिकारी बताउँछन् ।
कार्यकारी निर्देशक घिसिङको निर्देशनपछि केही दिन कामको गति बढाएको टेक्सम्याको अझै सोही लय पछ्याउन तयार छैन । केही स्पिड अप त गरेको छ, तर अपेक्षित भने देखिँदैन । कारण जे जस्ता भएपनि आयोजना जति सक्दो चाँडो सकियोस् भन्ने सरकारको अपेक्षा छ ।
सरकारलाई समयमै काम सकिएको जश लिनु त छँदै छ, भारतबाट वार्षिक रुपमा आयात भइरहेको २३ अर्ब बराबरको विद्युतमा केही सहुलियत होस् भन्ने पनि चाहेको छ ।
अर्थतन्त्रसँग पनि प्रत्यक्ष जोडिएको हुनाले आयोजनाको गति बढोस भन्ने खोजिनु जायज नै छ । तर, ठेकेदार चल्दै चल्दैन, आयोजनाका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ ।
आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङ मध्ये तल्लो टाडो सुरुङमा पाइप जडान गर्ने कार्य गत असार १ गतेदेखि शुरु गरिएको हो । माथिल्लोको काम गत असार १० गतेदेखि भएको हो ।
तल्लो सुरुङको कूल लम्बाई ३७३ मिटर छ । माथिल्ला ठाडो सुरुङको लम्बाइ ३१० मिटर रहेको छ । तीमध्ये हालसम्म कूल ३०० मिटरमा मात्रै पाइप जडानको काम भइसकेको छ । तल्लो ठाडो सुरुङमा २०० मिटर पाइप जडान भएको छ ।
सो सुरुङमा अब १७३ मिटर पाइप जडान गर्नुपर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउँछन् । सो सुरुङमा पाइप जडानको कार्य अष्ट्रेलियन कम्पनी एन्ड्रिजले गरेको छ । सो काम अगामी चैतसम्म सकिने अपेक्षा गर्न सकिन्छ । माथिल्लो ठाडो सुरुङमा मात्रै १०० मिटर पाइप जडान भएको छ । त्यसमा अझै २१० मिटर पाइप जडान गर्नुपर्नेछ ।
कार्यतालिका अनुसार आगामी चैतमा दुई वटै सुरुङमा पाइप जडान सक्नुपर्ने कार्यतालिका छ । तर सो समयमा दुबै सुरुङमा काम सकिने अवस्था छैन । एउटा सकिएपनि अर्कोको काम सक्न अझै केही समय लाग्न सक्छ । सुरुमा व्याज बाहेक आयोजनाको लागत ३५ अर्ब रुपैयाँ थियो ।
हालसम्म आयोजनामा ४८ अर्ब रुपैयाँ लागिसकेको छ । त्यसमा व्याज जोडिएको छैन । व्याज समेत जोडिँदा आयोजनाको लागत बढेर ७० अर्ब पुग्ने देखिएको छ । शुरुको लागतमा व्याज तथा अन्य लागत बढ्दा झण्डै दोब्बर भएको हो । समय थप हुँदै जाँदा लागत अझै बढ्न सक्ने देन्छि ।
माथिल्लो तामाकोशी समयमै सकिएको भए अन्य आयोजनामा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने थियो । तर लागत र समय बढ्दै जाँदा अन्य आयोजनामा समेत समस्या परेको छ ।
आयोजना नसकिदा आयोजनामा जटिलता मात्रै देखिएको छैन, अन्य समस्या पनि थपिए । भूइचालो तथा प्राकृतिक प्रकोपका कारण पनि आयोजना २ वर्ष पर धकेलियो, अब नधेलियोस् भन्नेमा राष्ट्रिय योजना आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समेत प्रतिवद्धता रहेको तथ्य सार्वजनिक भएपनि उनीहरु आयोजना समयमा नै सकाउने तर्फ लागेका छैनन् ।
तर, निर्माण व्यवसायीलाई काममा गति दिलाउन के कस्ता प्रयास गर्ने होला त ? प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पटक–पटक भन्ने गरेका छन्, जिम्मेवार बनाउने र असाध्यै भए ठेक्का रद्द गर्ने विकल्प बाहेक अरु के पनि छैन ।
उस्तै हालत छ मेलम्चीमा पनि
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको अवस्था पनि उस्तै छ । आव २०५५/५६ मा शुरु भएको आयोजनाको कूल लागत २७ अर्ब ६७ करोड ७६ लाख पुगिसकेको छ । आव २०७१/७२ मा सकिने भनिएको आयोजना अझै १ वर्ष सकिने अवस्थामा छैन ।
बाँध तथा सुरुङ निर्माणको जिम्मा लिएको सिएमसी अघिल्लो पुसको १५ गते काम छाडेर हिड्यो । हाल आयोजनाको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । आयोजनाको पछिल्लो प्रगति लगायतका बारेमा आज सरकारले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
आगामी असारसम्म सुन्दरीजलमा पानी खसाउने लक्ष्य लिएर काम भइरहेको यो आयोजनाबारे हालसम्म भएको काम, प्रगति र अब हुन बाँकी काम समावेश गरी श्वेतपत्र जारी गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
जानकारहरुका अनुसार आयोजनाको सम्भाव्यता अध्ययन ०४१ मा भएको थियो । २०५२ सालमै आयोजनाको काम शुरु भएको थियो । आयोजनामा एसियाली विकास बैंक लगायतका दातृ निकायले लगानी गरेका छन् ।
शुरुमा चिनियाँ कम्पनी सीआरसीसीले ०६५ सालमा ठेक्का लिएपनि बीचमै काम छाडेर हिडेको थियो । कूल ८ कािलेमटिर सुरुङ खनेर चिनियाँ कम्पनी फिर्ता भयो । सो आयोजना पनि गोरखा भूकम्प र भारतीय नाकाबन्दीको शिकार मात्रै भएन, इटालीको ठेकेदारले समेत ज्यादती गर्यो ।
गत असोजबाट चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरेको भएपनि कहिले सकिएला भन्नेमा कुनै ठेगान छैन । हाल नेपालको कूल ग्राहस्थ उतपादन ३४ खर्बको हाराहारीमा रहेको छ । सरकारी भनाइलाई आधार मान्दा ती आयोजना सकिएको भए २ प्रतिशत थप योगदान हुन पुग्थ्यो । त्यो भनेको ६८ अर्ब रुपैयाँ बराबर हो ।