५ वर्षपछि १ करोड पर्यटक आउँछन, निजगढ विमानस्थल हाम्रो ‘अर्जुन दृष्टि’ हो- पर्यटनमन्त्री भट्टराई



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा निर्माण गरिने बताएका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले निजगढ मुलुकको ‘गेम चेन्जर’ भएको भन्दै कुनै पनि हालतमा बनाउनु पर्ने र त्यसको विकल्प नभएको बताए ।

त्यसैले ५ वर्षभित्र कुनै पनि हालतमा व्यवसायिक उडान गर्ने गरी निजगढ विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने उनले बताए । निजगढ हाम्रो एकमात्र अर्जुन दृष्टि हो ।

‘विकासको दृष्टिले निगजढ विमानस्थल अर्जुन दृष्टि हो त्यसैले निजगढ विमानस्थलको विकल्प खोज्नु हुँदैन, कुनै पनि हालतमा बनाउनुपर्छ,’ उनले भने ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप रहेको र केही समयपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थल समेत सञ्चालन आउने तर त्यत्तिले मात्रै नपुग्ने भएकाले निजगढ विमानस्थलको विकल्प नभएको दोहोर्याए ।

मन्त्री भट्टराईले आगामी ५ वर्षभित्रमा मुलुकका केही विमानस्थलको निर्माण सम्पन्न भइसक्ने र केहीको स्तरोन्नती हुने भएकाले ५ वर्षपछि नेपालले क्रान्तिकारी फड्को मार्ने बताए ।

पूर्वाधार निर्माण भइसक्छ र यसले पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसपछि पर्यटकहरु पनि बढ्छन् ।

मन्त्री भट्टराईले ५ वर्षपछि मुलुकमा वार्षिक १ करोड पर्यटक आउने र त्यसका लागि आजका दिनमा काम गर्नुपर्ने बताए ।

‘५ वर्षभित्रमा सबै विमानस्थल बन्ने र स्तरोन्नती हुने काम सकिन्छ त्यसपछि मुलुकमा वार्षिक १ करोड पर्यटक आउँछन्,’ उनले भने ।

मुलुकमा सञ्चालित सबै विमानस्थलहरु केन्द्रीय सरकारको मातहतमा भए पनि प्रदेश र स्थानीय सरकारले समेत त्यसको विकासमा ध्यान दिनुपर्ने उनले बताए ।

‘केन्द्र सरकारले प्राविधिक काम हेर्छ भने प्रदेश र स्थानीय सरकारले व्यवस्थापना र जग्गा अधिग्रहणका लागि काम गर्नुपर्छ,’ उनले भने ।

मन्त्री भट्टराईले अब विमानस्थलले सेवा मात्रै नदिएर व्यवसाय पनि गरी नाफा कमाउनुपर्ने बताए ।


क्लिकमान्डु