भन्सार क्यास लेस प्रणालीमा, ९९.८ प्रतिशत राजश्व अनलाइनमार्फत



काठमाडौं । भन्सार विभागले करिब ९९.८ प्रतिशत अन्तराष्ट्रिय व्यापार अनलाइन आशिकुडा वल्र्ड मार्फत भएको जनाएको छ ।

विभागका अनुसार यसमा विभिन्न सब मोडलहरु पनि कार्यान्वयनमा आएको छ । विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागले बैंकमा भुक्तानी, बारकोड रिडर, इन्ट्री र एक्जिट नोट, रेभिन्यून कलेक्सनलगायतका काम पनि स्वचालित प्रणालीबाट भएको विभागले जनाएको हो ।

विभागले आगामी २ वर्षमा भन्सार क्षेत्रलाई काजगरहित बनाउने घोषणा समेत गरेको छ ।

विभागका महानिर्देशक सुमन दाहालले अब भन्सार क्यास लेस प्रणालीमा गएको बताए । उनका अनुसार अब सबै भन्सार कार्यालयहरुमा बैंकबाट नै कारोबार हुन्छ ।

‘हामी अब केही समयमा नै बैंकमा पनि जानु नपर्ने, अनलाइबाट नै कारोबार हुने व्यवस्था मिलाउँदै छौं,’ उनले भने ।

विभागले अहिले व्यापार सहज बनाउनको लागि नीतिगत छिमेकी मुलुक चीनसँग कस्टम्स कर्पोरेशन एग्रिमेन्ट गरिसकेको र भारतसँग एग्रिमेन्ट गर्ने तयारीमा रहेको जनाएको छ ।

हाल भन्सार बिन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको जनाएको छ । रातो मार्ग भनेको भौतिक परीक्षण हुने चाँज प्रणाली हो । यसलाई २० प्रतिशतमा सीमित गरी आगामी दिनमा ब्यापारमा सहजीकरण गर्ने विभागको योजना रहेको जनाएको छ ।

विभागले सार्क मुलुकको भन्सार नीति तर्जुमा तथा कार्यान्वयनमा एकरुपता गर्ने एंव भन्सार सुधारको प्रयास गरेको जनाएको छ । जसमा भारतको कलकत्ता र विशाखापटन बन्दरगाहबाट रेलमार्फत हुने आयातमा विद्युतीय काग्रो ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याएको जनाएको छ ।

देशको कुल राजश्वको करिब ५० प्रतिशत विभागले नै संकलन गर्दै आएको छ । जसमा अन्तर्राष्ट्रियतर्फ यूरोपमा २४, अफ्रिकामा ३५, उत्तर अमेरिकामा २७, एशिया प्रशान्त क्षेत्रमा ३० प्रतिशत राजश्व भन्सार बिन्दुमा संकलन हुने गरेको विभागले उल्लेख गरेको छ ।

यी देशको तुलनामा भन्सार बिन्दुमा नै राजश्व उठाउनेमा नेपाल नै अगाडि रहेको छ । विभागका अनुसार आन्तरिक उत्पादनभन्दा आयात हिस्सा बढी भएकाले भन्सार बिन्दुमा संकलन हुने राजश्वको अंश बढी देखिएको हो ।


क्लिकमान्डु