लगातार तीन दिनदेखि नेप्सेमा हरियाली, मंगलबार मात्रै १ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने हल्लासँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । अर्थमन्त्री हट्ने हल्लासँगै नेप्सेमा विन्दु लगातार तीन दिन बढेको हो ।

आइतबार १६.९ अंकले बढेको नेप्से विन्दु सोमबार १८.२६ अंकले बढेको थियो भने मंगलबार नेप्से विन्दु १६.२३ अंकले बढेको हो ।

मंगलबार नेप्से १६.२३ अंकले बढेर १,२१६.६९ विन्दुमा कारोबार बन्द भएको हो ।

बजारमा १७९ कम्पनीको ३८,८०,९५० सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड २७ लाख ३६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारको आधारमा भने मंगलबार माच्छापुच्छ्रे बैंकले अग्रता लिएको छ । बैंकको १९ करोड ४९ लाख १३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

त्यस्तै, मंगलबार एनआइसी एसिया बैंकको ६ करोड ४८ रुपैयाँ, प्रभु बैंकको ४ करोड २० लाख रुपैयाँ र डेप्रोस लघुवित्त वित्तीय संस्थाको ४ करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयर मूल्य १० प्रतिशतको वृद्धि भएको छ ।

मंगलबार नेको बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको प्रतिसेयर मुल्य ३.९३८७ प्रतिशतले घटेको छ ।

यसैगरी मंगलबार नेप्सेमा सूचिकृत १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक वृद्धि भएको छ भने होटेल समूहको परिसूचक ८.३७ अंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २२.६६ अंकले घटेको छ ।

सोही दिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ८६.५६ अंकले छ भने म्यूचुयल फण्ड ०.०१ अंकले बढेको छ ।


क्लिकमान्डु