बाग्लुङमा भाटभटेनी खोल्ने मीनबहादुर गुरुङको घोषणा



बाग्लुङ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाग्लुङमा भाटभटेनी सुपरमार्केटट खोल्ने घोषणा गरेका छन् ।

बाग्लुङ इन्भेष्टमेन्ट टकमा सहभागी हुन यहाँ आइपुगेका गुरुङले सरकारले सहयोग गरे आगामी १० महिनाभित्र भाटभटेनी खोल्ने बताए ।

‘म प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्दछु कि तपाईहरुले निःशुल्क जग्गा उपलब्ध गराइदिनुहोस्, म १० महिनाभित्र भाटभटेनी सञ्चालनमा ल्याउँछु,’ गुरुङले भने ।

हालसम्म भाटभटेनीले देशका मूख्य सहरहरुमा १७ वटा आउटलेट खोलिसकेको उनले जानकारी दिए ।

‘अहिले भाटभटेनीले ८/१० हजार जनालाई रोजगारी दिएको छ, मेरो उद्देश्य ५० हजार जनालाई रोजगारी दिने हो,’ गुरुङले भने ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले भाटभटेनीलाई बाग्लुङमा जग्गा उपलब्ध गराउन र सहयोग गर्न तयार रहेको बताए ।

‘बाग्लुङमा एउटा भाटभटेनी आवश्यक छ, तपाईलाई के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं,’ मन्त्री गुरुङले भने, ‘मीनबहादुर जीले भाटभटेनी खोल्ने घोषणा गर्नु भएको छ, यहाँका स्थानीय साथिहरुले नै जग्गा खोजिदिनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’

संसारभर भाटभटेनी पुर्याउने लक्ष्य रहेकाे समेत गुरूङले बताए ।

उनले गण्डकी प्रदेश लगानी आकर्षण गर्न गम्भीर रहेको बताए ।

‘निजी क्षेत्रले व्यवसाय गर्ने हो, सरकारले त सहयोग गरेर लगानीको वातावरण तयार गरिदिने र लगानीको वातावरण संरक्षण गरिदिने हो,’ उनले भने, ‘हामी नीतिगत र व्यवहारिक दुबै तरिकाले लगानी आकर्षण गर्न लागिपरेका छौं ।’

दुई दशकअघि ३५ हजार रुपैयाँबाट किराना बिजनेस शुरु गरेका गरुङले अहिले अर्बौंकाे साम्राज्य स्थापित गरिसकेका छन् ।


क्लिकमान्डु