पर्यटनमन्त्रीले भने– १० वर्ष काम गरे १ करोड पर्यटक आउँछन्, पर्यटकलाई नेपाली खाना खुवाऔं
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुँदै लाग्दा पर्यटनमन्त्री योगेश भट्टराईले सन् २०२० लाई मात्रै लक्षित नगरी सन् २०२० देखि २०३० सम्मको एक दशकलाई ‘नेपाल टुरिजम ट्वान्टी–थर्टी’का रुपमा मनाउनु पर्ने बताएका छन् ।
सोमबार बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रतिनिधिसँग कुरा गर्दै भट्टराईले २०२० मा २० लाख पर्यटक आउनेमा विश्वास व्यक्त गरे ।
‘सन् २०२० मा लक्ष्य अनुसार २० लाख पर्यटक आउलान वा त्योभन्दा पनि बढी आउलान तर हामीले सन् २०३० सम्म १ दशकको योजना बनाएर अगाडि बढ्नुपर्छ,’ मन्त्री भट्टराईले भने ।
उनले सबै क्षेत्रलाई १० वर्ष पर्यटनको क्षेत्रमा काम गर्न आग्रह गदै सो समयमा आवश्यक पूर्वाधार समेत निर्माण भइसक्ने बताए ।
त्यस्तै, होटलहरुलाई समेत नेपाल परिकारका मेन्यु राख्न भनिसकेको बताउँदै यसले स्थानीय उत्पादनमा समेत जोड दिने बताए । उनले होमस्टेमा बाससँगै खानामा पनि स्थानीय उत्पादनमा मात्रै जोड दिनुपर्ने बताए । त्यसले एकातिर स्थानीय उत्पादन बढाउने र अर्कोतिर रोजागारी पनि सिर्जना हुने उनले बताए ।