म्याग्दीमा स्थानीयले बनाए ४२ किलोवाटको लघुजलविद्युत् परियोजना



 


म्याग्दी । म्याग्दीको मक्लकवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ ।

४२ किलोवाट क्षमताको परियोजनाको नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गरे ।

परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ ।

उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले २ करोड १७ लाख ७९ हजार २६१ खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे ।

१ करोड ५९ लाख २६ हजार २६१ नगद तथा ५८ हजार ५३ हजारबराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष छन्त्यालले बताए ।
परियोजनामा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र÷राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको ८१ लाख ९० हजार, मल्कवाङ गाविसको ५ लाख ५६ हजार, जिविसको २ लाख र ३, ४, ५ र ६ वडा र आमा समूह कोषको १३ लाख १० हजार लगानी भएको छ ।

परियोजना निर्माणका लागि स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले ५६ लाख ७० हजार २६१ चन्दा संकलन गरेर जुटाएका थिए ।

परियोजना निर्माण भएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न, विद्युतीय सामग्रीको सहायताले आयआर्जनमूलक क्रियाकलाप गर्न सहज भएको स्थानीयवासी याममाया छन्त्यालले बताइन् । रासस


क्लिकमान्डु