भेडापालकले पाए तीस लाख अनुदान, व्यावसायिक बनाउन सहयोग



म्याग्दी । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले ३० लाख रुपैयाँ अनुदान पाएका छन् ।

जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो । भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत केन्द्रमार्फत ३० लाख ९० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताए ।

स्रोत केन्द्रमा शिख, घार, हिस्तान, राम्चे, भगवती, दोवा, बेग, भुरुङ तातोपानी, दाना र नारच्याङ गाविसका ६३ जना भेडापालक कृषक आबद्ध छन् । उनीहरुले हाल ११ हजार पाँच सय ८१ भेडा पालेका छन् । परम्परागत भेडापालन पेसालाई व्यवस्थित र व्यावसायिक बनाउन कृषकलाई सङ्गठित गरी पूर्वाधार निर्माण र प्राविधिक सहयोग गरिएको अधिकृत बानियाँले बताए ।

दशवटा गोठ बनाउन दुई लाख रुपैयाँका दरले र १० वटा टहरा बनाउन ५० हजार रुपैयाँका दरले सहयोग गरिएको छ । यसैगरी दाना, शिख र दोवाको चरन क्षेत्रमा चारवटा भेडाले पानी खाने पोखरी बनाउन ८० हजार रुपैयाँका दरले अनुदान पाएका छन् । बाह्य परजीवी नियन्त्रणका लागि औषधि उपचार गर्न दाना र बेगमा रु ६०/६० हजारमा दुईवटा डिपिङ टङ्की निर्माण गरिने भएको छ । दाना, भुरुङ, शिख र हिस्तानको चरन क्षेत्रबाट विषयुक्त घाँस हटाउन  एक लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

यसैगरी दाना, नारच्याङ र बेगको चरन खर्चमा जाने बाटो बनाउन दुई लाख रुपैयाँ उपलब्ध गराइएको छ । कृषकको माग र स्रोत केन्द्रले तयार पारेको कार्ययोजनाअनुसार सम्झौता गरी पूर्वाधार निर्माणका लागि अनुदान उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ । प्रविधिज्ञले तयार पारेको मापदण्डअनुसार चालु आर्थिक वर्षभित्र नै पूर्वाधार बनाउनुपर्नेछ ।

गोठमा बस्ने कृषकलाई आठ लाख बराबरको ऊन काट्ने कैँची, चर्खा, त्रिपाल, मोबाइल, पाल, सौर्य टुकी, गमबुट, टर्च लाइटलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिने पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले बताए। स्रोत केन्द्रमा आबद्ध कृषकलाई कार्यालयले आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, प्राविधिक सेवा र विभिन्न सामग्री सहयोग गर्दै आएको छ ।


क्लिकमान्डु